काठमाडौँः साउन ३०–पछिल्ला तीन वर्षयता म्याग्दीमा उद्योग तथा व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर उल्लेख्यरूपमा बढेको छ। कोभिड महामारी पछिको आर्थिक मन्दी, वैदेशिक रोजगारी प्रतिको आकर्षण र वैकल्पिक पेसा तर्फको आकर्षणले उद्योग व्यवसाय सञ्चालनमा नकारात्मक असर पारेको देखिएको छ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार आर्थिक वर्ष २०८०।८१ को तुलनामा २०८१।८२ मा उद्योग व्यवसाय दर्ता २६५४ प्रतिशतले घटेको छ भने खारेज दर १०७ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१।८२ मा जिल्लामा ७० उद्योग र ८५ व्यवसाय दर्ता भएका थिए। सोही अवधिमा ४२ उद्योग र ४८ व्यवसायिक फर्म खारेज भएका छन्। अघिल्लो वर्ष २११ उद्योग व्यवसाय दर्ता हुँदा ८४ खारेज भएका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७९।८० मा १०१ उद्योग र ११० व्यवसाय दर्ता भएका थिए भने १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए।
लगातार दर्ता घट्दो क्रममा देखिएको छ। २०७७।७८ मा ७६२, २०७८।७९ मा ५७० र २०७९।८० मा ३१७ उद्योग तथा व्यवसाय दर्ता भएका थिए। अहिले म्याग्दीमा कुल २,९१७ उद्योग र २,६९० व्यवसाय कायम रहेको कार्यालयले जनाएको छ।
गत वर्ष दर्ता भएका उद्योगबाट २१७ जनालाई रोजगारी सृजना गरिएको छ। त्यस्तै, ५३२ उद्योग र ६०३ व्यवसायिक फर्मको नवीकरण गरिएको छ।
राजस्व संकलन तर्फ हेर्दा, कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा रु ३० लाख २५ हजार ७७४ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको रु १७ लाख ३८ हजार ५०० भन्दा उल्लेखनीय रूपमा बढी हो। कार्यालयले प्रदेश सरकारको नीतिमा आएको परिवर्तनलाई राजस्व वृद्धिको कारण बताएको छ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जनसंख्या घट्दै जानु, बसाइँसराइ, वैदेशिक रोजगारी र कोरोना महामारी पछिको आर्थिक मन्दीलाई उद्योग व्यवसाय घट्ने प्रमुख कारण बताएका छन्।
उनका अनुसार, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, ऋण वा अनुदान लिन दर्ता गरिएका व्यवसायहरू उद्देश्य पूरा भएपछि करको झन्झट टार्न खारेज गरिन्छ।”
उनले हार्डवेयर, फेन्सी र सामान्य होटल व्यवसाय घटेको भए पनि पर्यटन मूलक होटल व्यवसाय भने वृद्धि भएको दाबी गरेका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार, अब ग्रामीण उद्यमी र व्यवसायीहरूले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएकाले प्रदेश सरकार अन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने प्रवृत्ति समेत बढेको छ।+




.gif)





