images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा...

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरेका हुन् । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे । 

    images
    images

    मन्त्री पाण्डेले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका संग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।“कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं,”  एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।  उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् । त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

    इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन” अन्तर्गत प्रकाशन गरिएको हो ।परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने र संग्रहालयसम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो ।आइकम नेपालका अध्यक्ष दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी  संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए । 

    images
    images

    यो तालिम संग्रहालय, प्रदेश, स्थानीय र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिएकाले तीन वटै तहका सरकार तथा समुदाय र निजी संग्रहालयलाई जोडेर संग्रहालयका आधारभूत विषयमा  छलफल समेत गर्न सहयोग पुर्याएको जनाइएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मीबीच छलफल गर्ने आधार समेत बनेको त्यस अवसरमा उल्लेख गरियो । तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्नुपर्ने  विषयमा छलफल गरिएको थियो । 

    परियोजनाअन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र सो अवधिको यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र  निर्माण पनि सम्पन्न भएको छ । वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको अवस्थालाई समावेश गरेको छ । आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय तथा स्थानीय र प्रदेश सरकारहरुको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकासका लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालयसम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालनसम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पुर्‍याएको सरोकारवालाहरूको धारणा छ । 

    सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा सहभागीले यस किसिमका प्रभावकारी परियोजनालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउण्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend