काठमाडौँ, २६ साउन–गत असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा र बाढी–पहिरोबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गते सम्ममा जम्मा ७८ वटा बीमा दाबी दर्ता भएका छन्। तीमध्ये सम्पत्ति बीमा, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा रहेका छन्।
बीमा दाबीमध्ये सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्समा रु ५५ करोड बराबरको दाबी परेको छ। त्यसपछि शिखर इन्स्योरेन्समा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्समा रु ८ करोड ७३ लाख, र सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको दाबी परेको छ।
अन्य बीमा कम्पनीहरूमा नेको इन्स्योरेन्स रु ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी रु २ करोड ६५ लाख, युनाइटेड अजोड रु ९१ लाख, आइजीआई प्रुडेन्सियल रु ७६ लाख ७० हजार, एनएलजी रु ४७ लाख, सिद्धार्थ प्रिमियर रु ३१ लाख र प्रभु इन्स्योरेन्समा रु २८ लाख बराबरको बीमा दाबी दर्ता भएको छ।
लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका दर्जनौं सवारीसाधन बगाएको थियो। यस्तै, रसुवागढी जलविद्युत आयोजना सहितका अन्य संरचनामा समेत ठूलो क्षति पुगेको छ।




.gif)





