images

२०८३ आश्विन १९ गते

images
images
images

८० रोपनी जमिनमा कागतीखेती, आम्दानी सोचेजस्तै

८० रोपनी जमिनमा कागतीखेती, आम्दानी सोचेजस्तै

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • नवलपरासी। नवलपरासीको सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ। बोटमा लटरम्म कागती फलेको छ।रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त छन्। जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाएका उनी अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै छन्।

    images
    images

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ। लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागतीखेतीले यतिबेला उत्पादन दिन थालेको छ। गत वर्ष सामान्य रूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन सुरु भएको उनले बताए।

    यो वर्षमात्र ५० क्विन्टल कागती बजारमा पठाइसकिएको उनले बताए। कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ। ‘विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरुअरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती सुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ’ किसान चापागाईँले भने।

    images
    images

    उनका अनुसार सबैजसो बोटबाट उत्पादन सुरु भएकाले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ। चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागतीखेतीलाई अगाडि बढाएका छन्। कागतीखेती विस्तारका क्रममा रहेको भुसालले बताए।दुवै जना मिलेर सिङ्चाङमा सुरु गरेको उदाहरणीय कागतीखेतीका कारण यहाँ अन्य किसानसमेत कागतीखेतीतर्फ आकर्षित भएका छन्। यहाँ गाउँका अन्य किासनले समेत करिब चार हजार बिरुवा लगाएका छन्।

    सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ। उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन्। नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताए। कागतीखेतीमा हालसम्म रु एक करोड बढी लगानी भएको उनको भनाइ छ।कागतीखेती सुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन्। स्थायी रूपमा तीन जना कामदार रहेको र समयसमयमा अन्य कामदारसमेत खटाइने गरिएको छ। नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तलाखेतीको समेत थालनी गरेका छन्।

    नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागतीखेतीमा संलग्न छन्। नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ।नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ। कागतीसँगै नवलपुरमा सुन्तलाखेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ मार्फत नवलपुरमा कागतीखेती प्रवर्द्धन हुँदै आएको छ। कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग–कीराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ। अनुदानले कागती र सुन्तलाखेती गर्नेहरूको सङ्ख्या बढाउँदै गएको उनले बताए।

    कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ। अहिले कागती प्रतिकेजी रु ८५ सम्ममा बिक्री हुँदै आएकाले मूल्यसमेत कम रहेको उनको भनाइ छ। उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ।कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताए। यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहज रूपमा बजारीकरणका लागि पहल भइरहेको उनको भनाइ छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend