काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुनु यसकै नतिजा रहेको उनको भनाइ थियो।
उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्ने कुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए। उनले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे।सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए। सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको उनको भनाइ थियो।
उनले भने, ‘८० प्रतिशत विद्यालयमा शिक्षक छैनन्। ५२ प्रतिशत विद्यार्थी एसइईमा फेल भए भनिरहेका छन्। मुख्य मुख्य शिक्षकहरु नै छैनन्। राहत वा सामुदायिक स्तरमै राखेर जेनतन अध्ययन गराइएको छ। यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ। संविधानको दोष छैन। संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ। सारा कुरा छ। तर त्यो लागू कसरी गर्ने देखिरहेको छ। पार्टीलाई सत्तामा नगइकन नहुने।’




.gif)





