सुर्खेतमा एक जना आगलागी पीडित व्यवसायीलाई बिमा बापत २ करोड ६ लाख रकम भुक्तानी दिइएको छ। सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले सुर्खेतस्थित टीका ओली स्टोर्स एण्ड अर्डर सप्लायर्सलाई एक कार्यक्रम गरी आगलागीबाट भएको क्षतिपूर्ति स्वरूप २ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको हो।
गत वैशाख २५ गते भएको आगलागीबाट व्यवसायमा ठुलो क्षति पुगेपछि कम्पनीले बीमित पक्षलाई दाबी रकम चाँडै उपलब्ध गराएको हो। सो दाबी रकमको चेक सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडका सहायक महाप्रबन्धक तथा दाबी विभाग प्रमुख नवराज पराजुलीले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन्।कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, इन्सुरेन्सका कर्णाली प्रदेश प्रमुख राकेश विसी, शाखा प्रमुख शिलु मल्ल लगायतको उपस्थिति रहेको थियो। बीमित व्यवसायी टीका ओलीले आफूले सोचेजस्तो झन्झटरहित रूपमा बिमा रकम प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे। उनले भने, ‘बिमामा झन्झट हुन्छ भन्ने सुनेको थिएँ, तर मैले त्यस्तो अनुभव गर्नुपरेन। एक पटक ताकेता गर्न नपरी अपेक्षा गरेभन्दा छिटो रकम पाइयो।’
सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ मा १७ हजार ७ सयभन्दा बढी दाबी फर्छ्यौट गर्दै ३ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी गरिसकेको जानकारी भएको दाबी विभाग प्रमुख नवराज पराजुलीले बताए। दाबी विभाग प्रमुख पराजुलीले कम्पनीले दाबी फर्छ्यौटमा शीघ्रता र पारदर्शितालाई प्राथमिकता दिने बताउँदै विपत्तीका बेला बीमितलाई राहत दिन सधैं तयार रहेको बताए।




.gif)





