काठमाडौं। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा रु ७६ लाख ४३ हजार २४३ राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।गत आवमा रु एक करोड तीन लाख ५९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । राजस्व संकलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।
उनका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो । आव २०८०र८१ मा कार्यालयको रु ५० लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु ८६ लाख ८४ हजार ९० संकलन भएको थियो ।
झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व सङ्कलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए । उनका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ । केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो ।




.gif)





