माछापालनमा कपिलवस्तु आत्मनिर्भर बन्दै गएको छ। जिल्ला अहिले माछा पालनको हबका रूपमा विकासित हुँदै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको हो।माछाको माग बढेसँगै राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक माछापालन गर्ने कृषकको संख्या बढेको हुँदा जिल्ला माछा पालन हवका रूपमा स्थापित हुँदै गएको छ । माछापालनतर्फ बढ्दो आकषर्णसँगै जिल्ला माछापालनमा आत्मनिर्भर बन्दै गएको हो। यससँगै भारतीय माछामा परनिर्भर जिल्लामा केही वर्ष यता बर्सेनि आयातसमेत घट्दै गएको भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख डाक्टर परबेज आलमले माछामा कपिलवस्तु करिबकरिब आत्मनिर्भर बनी सकेको दाबी गरे। वार्षिकरूपमा प्रतिव्यक्ति साढे सात किलो माछाको पहुँच हुनुपर्नेमा जिल्लामा अहिले सात किलो पुगिसकेको उनले बताए।बर्सेनि १५ देखि २० प्रतिशतसम्म आयात प्रतिस्थापन घटेको माछा पालक कृषक बताउँछन्। जिल्लामा उत्पादित माछाले यहाँको ९० प्रतिशत माग पूरा गरेको छ। १० प्रतिशत हाराहारीमा अन्य स्थानबाट आउने गरेको छ। जनकपुर र रूपन्देहीमा मुलुकमै सबैभन्दा बढी माछा उत्पादन हुने गरेको छ। ‘अब ती दुई जिल्लाकै हाराहारीमा पुग्छाैं’, केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले भने। गत वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार सात सय ९१ मेट्रिक टन माछा उत्पादन भएको छ।
जिल्लामा माछा पोखरी र घोलाताल गरी एक हजार २०४.६ हेक्टर तथा मत्स्य हेचरी तीन, मत्स्य नर्सरी नौ तथा माछा फर्म दुई सय र जिउँदो माछा पसल तीन वटा छन्। माछाको दाना बनाउने उद्योग दुई वटा छन्। २५ सदस्यीय मत्स्य सञ्जाल छन्। तीन वर्ष अघिसम्म चार सय हेक्टरमा माछा पाल्ने गरिएकोमा अहिले बढेर सात सय बढी हेक्टरमा गरिएको छ। ‘तीन वर्षअघिसम्म नौ सय मेट्रिक टन माछा उत्पादन हुन्थ्यो अहिले बढेर १३ मेट्रिक टन पुगेको छ’, यादवले भने। ‘भारत र अन्य जिल्लाबाट आउने आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेका छौं, हामी केही वर्ष मै माछा उत्पादनमा आत्मानिर्भर बन्छौ’, उनले भने।
जिल्ला करिब–करिब माछापालनमा आत्मनिर्भर बनी सकेको उनको दाबी छ । १३ सय मेट्रिक टन त व्यावसायिक पोखरीबाट उत्पादन भएको माछा हो। घोला र अन्य तालबाट भने दुई हजार बढी मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। व्यावसायिकरूपमा माछा पालन गर्नेको संख्या निरन्तर बढेको छ। विशेष गरी युवाहरू अहिले माछापालनमा बढी आकर्षित भएका छन्। जिल्लामा बर्सेनि २४ करोडको माछा उत्पादन भइरहेको छ।व्यावसायिक माछापालनमा लागेका कपिलवस्तुको शिवराज नगरपालिका बालापुरका कृषक विजय पौडेलले माछापालनबाट वार्षिक २५ लाख बढी आम्दानी गर्ने गरेको बताए। सात वटा पोखरीमा माछापालन गरेका उनले माछापालनबाट राम्रो आम्दानी गरेको बताए। मान्छेको बच्चालाई जसरी हुर्काइन्छ त्यसरी माछाको स्याहर गरिए राम्रो आम्दानी पाइने उनले बताए।
माछापालक कृषकले भारतबाट बैखी माछाको चोरी तस्कारी नियन्त्रण गर्न सके नेपाली माछापालकले राम्रो आम्दानी पाउनसक्नेछन्। दानाको भाउ निरन्तर बढे पनि माछाको भाउ नबढ्ने, बैखा माछाको भुरा पाउन मुस्लिम पर्ने गरेको र बजारीकरणको समस्या आउने गरको माछापालन कृषक बताउँछन्।कपिलवस्तुमा सिल्भर, ग्रास, नैनी, कमनकार्प, बिउ हेड, रोहु, मागुर बैखी लगायतका माछा बढी उत्पादन हुने गरेका छन्। जिल्लाका गाउँगाउँमा प्राकृतिक जलाशय रहेको र धेरै पुराना इँटा भट्टा बन्द रहेकाले र त्यसमा पोखरी पनि खन्न नपर्ने हुँदा कम लगानीमा माछापालन गर्न सकिएकाले पनि त्यसतर्फ आकषर्ण बढेको छ।जग्गा लिजमा लिएर पोखरी निर्माण गरी माछा पाल्ने कृषकसमेत बढदै गएका छन्। धान र गहुँ भन्दा दुई सय प्रतिशत बढी नाफा हुने र जोखिमसमेत कम भएकाले कृषकहरू माछापलनमा लागेको केन्द्रका प्रमुख आलमले बताए। माछापालन गर्नेको संख्या बढेसँगै त्यसबारेमा कार्यालयमा बुझ्न आउने कृषकको संख्या समेत बढेको उनले बताए।




.gif)





