images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ३७.९९ लाख मूल्यसहित ‘एमजी विन्डसर ईभी’...

३७.९९ लाख मूल्यसहित ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा

३७.९९ लाख मूल्यसहित ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौँ । बेलायती अटोमोबाइल ब्रान्ड मोरिस ग्यारेज (एमजी) को नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भारतमा निर्मित विद्युतीय कार ‘एमजी विन्डसर ईभी’ सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोक्दै औपचारिक रुपमा नेपाल भित्र्याएको हो ।एमजीले भारतमा उत्पादन गरेको यो दोस्रो विद्युतीय मोडेल हो, जसलाई कम्पनीले सेडानको आराम र एसयूभीको स्पेस भएको ‘कम्प्याक्ट युटिलिटी भेइकल’ (सीयूभी) को रुपमा प्रस्तुत गरेको छ । 

    images
    images

    प्रतिस्पर्धी मूल्यका साथ बजारमा प्रवेश गरेको विन्डसरले अन्य मोडेलहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । यो गाडी ‘एक्साइट’ र ‘एक्सक्लुसिभ’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    एमजी विन्डसर ईभीमा ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले २०० एनएमको टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३३१ किलोमिटरको रेन्ज प्रदान गर्छ । नेपाली सडकका लागि उपयुक्त मानिने यसको ग्राउन्ड क्लियरेन्स १८६ एमएम रहेको छ ।

    images
    images

    ‘नयाँ बिज्नेस क्लास’ को रुपमा परिचित गराइएको विन्डसरमा पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्वील जस्ता बाहिरी विशेषता छन् । भित्री डिजाइनमा १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्टल प्यानल, वायरलेस चार्जर र ६ ओटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुरक्षा फिचर पनि उपलब्ध छन् ।

    कार्यक्रममा जेएसडब्लू एमजी मोटर इन्डियाका अन्तर्राष्ट्रिय सञ्चालन प्रमुख अश्वनी गर्गले भारतबाहिर विन्डसर ईभी सार्वजनिक हुने पहिलो बजार नेपाल भएको बताउँदै यसले नेपाली बजारप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरे । “भारतमा यो मोडेल निकै सफल भएको छ र नेपाली ग्राहकले पनि यसको प्रिमियम अनुभव र विशेषता मन पराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,” उनले भने । भारतमा निर्मित भएकाले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धता सहज हुने कम्पनीले जनाएको छ ।पारामाउन्ट मोटर्सले विन्डसर ईभीको बुकिङ देशभरका शोरुमबाट खुला गरिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend