लमजुङ । लमजुडमा जिल्ला मालपोत कार्यालयले नौ करोड बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा विभिन्न शीर्षकमा यस आर्थिक वर्षको साउनदेखि चैत मसान्त सम्म नौ करोड १५ लाख १५ हजार १ सय ५१ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
मालपोत कार्यालयले नियमानुसार विभिन्न शीर्षकमा सो राजस्व रकम संकलन गरेको मालपोत कार्यालय लमजुङका मालपोत अधिकृत एवम् सूचना अधिकारी ईश्वरकमल श्रेष्ठले बताए । उनका अनुसार घर जग्गा रजिष्ट्रेशन शुल्क, लाभ कर, सेवा, रोक्का, फुकुवा तथा अन्य शुल्क शीर्षकमा राजश्व उठाउने गरेको हो । चालु आवको तेस्रो त्रैमासिक अवधि अर्थात गत चैत मसान्त सम्मको अवधिमा घर जग्गा रजिस्ट्रेशन वापत ५ करोड ३१ लाख ४४ हजार ४ सय ९८ रुपैयाँ, नामसारी वापत ५ लाख ६३ हजार ५ सय, दाखिला खारेज वापत १८ लाख ३८ हजार ७ सय ८६ रुपैयाँ राजस्व संकलन भएको हो ।
यसैगरी, धितो तथा दृष्टि बन्धकीवापत ६८ लाख ५३ हजार ९ सय ७०, पुँजीगत लाभकर वापत २ करोड ७६ लाख ३६ हजार, ९ सय ५७ र पुर्जा बिक्री, प्रतिलिपि, संशोधन, घर कायम तथा अन्य प्रशासनिक दण्ड जरिवाना वापत १४ लाख ७७ हजार ४ सय राजश्व सङ्कलन भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मालपोत कार्यालयमा जम्मा भएको राजश्व मध्ये लाभ करको रकम संघीय सरकारलाई जान्छ । अन्य शीर्षकको राजश्व रकम मध्ये स्थानीय तहलाई ६० र प्रदेशलाई ४० प्रतिशत बाँडफाँड हुने गरेको श्रेष्ठको भनाइ छ ।




.gif)





