काठमाडौंः सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिलाई पूर्णता दिएको छ।
भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
मन्त्रीका अनुसार बुधबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो।
गत चैत १६ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। जसमा विश्व पौडेल र विजयनाथ भट्टराई थिए।
तर, वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समिति छाडेका थिए।
जसले गर्दा गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ। चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नर विहीन भएको छ।
सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा डा.गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामा समेत स्वीकृत भएको भने छैन।
सिफारीस समितिले पूर्णता पाएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ।
राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले गत आइतबार नै कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
तर, बुधबारसम्म गभर्नरका प्रत्याशीद्वय राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत भएको छैन।




.gif)





