images

२०८३ आश्विन १७ गते

images
images
images

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्व बजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।

    images
    images

    पोल्ट्री व्यवसायी मञ्चले कोभिडका समयमा नेपाली बजारमा अण्डाका माग ह्वात्तै घटी नगन्य मात्रामा कारोबार भएपछि विस्थापित हुन पुगेका पोल्ट्री व्यवसायीलाई एक पटकका लागि राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । कोभिड महामारीका कारण लगानी डुबेका बाहेक अधिकांश कृषकले आफ्नो व्यवसायलाई समयसापेक्ष रूपमा आधुनिक र प्रविधियुक्त बनाइ मुलुकको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाइरहेको अवस्था छ । 

    मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार अहिले नेपालको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब लगानी भएको र त्यसको करिब आधा अर्थात् रु ८० अर्ब अण्डा उत्पादनका क्षेत्रमा लगानी रहेको छ । नेपालमा अहिले दैनिक उत्पादित ३२ लाख अण्डाले बजारको माग धानेको मञ्चले स्पष्ट गरेको छ ।नेपालमा कुखुरा पालन क्षेत्रमा उन्नत प्रविधि नभित्रिएको भए यति वेला यो क्षेत्र आत्मनिर्भर बन्न नसक्ने व्यवसायीहरू बताउँछन् । पछिल्ला दिनहरूमा कृषकहरु व्यावसायिक बन्दै ठुलो लगानी गरेकै कारण नेपालमा कुखुरा पालन क्षेत्र आत्मनिर्भर बन्न सकेको हो ।

    images
    images

    देशकै ठुलो मध्यको दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक कृषकहरुले ठुलो लगानी गरेकै कारण नेपाली बजारको माग धान्न सकिएको हो । अहिले नेपालमा २० भन्दा बढी ठूला व्यावसायिक फार्महरुले वातावरण अनुकूलित खोरमा कुखुरा व्यवसाय गर्दै आएका छन् । ती खोरमा आवश्यकता अनुसार तापक्रम मिलाएर कुखुरा राख्ने गरिन्छ । कुखुराले पारेका अण्डा स्वचालित उपकरणबाट एकै ठाउँमा जम्मा गर्ने गरिन्छ । कम जनशक्तिमा उच्चतम प्रविधिको प्रयोग गरेर काम गर्ने गरिएको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिए ।

    अहिले नेपालमा ५० हजार कुखुरा पाल्न वातावरण अनुकूलित खोर निर्माणका लागि करिब रु छ करोड खर्च लाग्छ । ती खोरमा कुखुरा राखेर अण्डा उत्पादन हुने बेलासम्म रु १० करोड हाराहारी लागत पुग्दछ । कार्यकारी पोखरेलले भने,“पछिल्लो समय लागत अनुसारको मूल्य प्राप्त हुने गरेकाले अण्डा उत्पादनतर्फ आकर्षण बढ्दो छ । यसबाट रोजगारी सिर्जना हुनुका साथ विदेशबाट अण्डा आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ । पोल्ट्री व्यवसायबाट विस्थापित किसानलाई राहत सहयोगसहित पुनः यसै  व्यवसायमा भित्¥याउने वातावरण तयार गर्न सरकारसँग अनुरोध गर्दछु ।”

    नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सर्दीमा चार लाख कुखुरा पाल्दै आएका पोखरेल थप दुई लाख कुखुराका लागि खोर बनाउँदै छन् । उनको भनाइमा उच्च जोखिमका बावजुद् नेपाली कृषक एवं व्यवसायीहरूले करोडौँ लगानी गरेकै कारण यति बेला यहाँको अण्डाको बजार धान्न सकिएको हो । स्याङ्जाको भिरकोटमा दुई लाख कुखुरा पालेको खिलुङकालिका एग्रोफार्मले जनकपुरमा ‘जनकपुर एग्रोफार्म’ स्थापना गरेर थप चार लाख कुखुरा पालिरहेको छ ।

    नवलपरासीमा नै ‘दुम्किबास पोल्ट्रि फार्म’ले चार लाख हाराहारी कुखुरा पाल्दै आएको छ । खिलुङकालीका एग्रोका प्रबन्ध निर्देशक भेषराज अर्याल अण्डा उत्पादन गर्न ठुलो लगानी गरिएको बताउँछन् । लागत मूल्य भन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा यो लगानी जोखिममा पर्ने उनको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सघंका पूर्व अध्यक्ष त्रिलोचन कँडेल ७५ प्रतिशत अण्डा उच्च प्रविधिका वातावरण अनुकूलित खोरबाट उत्पादन हुने गरेको बताउँछन् । उनको भनाइमा कोभिड सङ्क्रमणपछि खस्किएको बजारले ७५ प्रतिशत अण्डा उत्पादक कृषक विस्थापित भएको छन् । उनले भने, “ठूला लगानी गर्ने व्यवसायी यस क्षेत्रमा नआएका भए अहिले अण्डाको बजार आत्मनिर्भर हुन सक्दैनथ्यो ।” हाल नेपालमा ३० हजार भन्दामाथि कुखुरा पाल्ने किसानको सङ्ख्या २५० हाराहारी रहेको अध्यक्ष कँडेल बताउँछन् ।

    पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष भट्ट कोभिड सङ्क्रमण पछि एकाएक घटेको अण्डाको मूल्यले धेरै व्यवसायीलाई यस क्षेत्रबाट विस्थापित गराएको बताउँछन् । अहिले यस व्यवसायमा रहेकाहरू बैंकको ऋण थप गरेर टिक्न सकेको उनको भनाइ छ । नेपाली बजारमा अण्डा तथा मासुको मूल्य घटिरहेको अवस्थामा बैंकको ब्याजदरसहित दाना र औषधिको मूल्य बढ्नाले किसान विस्थापित हुनुपरेको उनले स्पष्ट गरे ।

    पोल्ट्री व्यवसायी मञ्चका पूर्व अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायतका कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउँछन् । पछिल्लो समय आधुनिक प्रविधिका ठूला व्यावसायिक फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि दुई वर्षअघि सम्बन्धित क्षेत्रका किसानले नेपाल लेयर्स कुखुरापालक सघं गठन गरेका थिए । सो संस्थाले देशव्यापी रूपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसान समेत आउन थालेको लामिछाने बताउँछन् ।सघंका अध्यक्ष एवं किसान एग्रोका कार्यकारी निर्देशक पोखरेल आफ्नो नेतृत्वमा अण्डा उत्पादन गर्ने कृषक तथा व्यवसायीहरू सगंठित रूपमा बजारीकरणमा जुटेकै कारण लागत मूल्य पाउन सकेको बताउँछन् । उनले भने, “हामीहरू सङ्गठित रूपमा नलागेको भए यति बेला नेपालमा विदेशी अण्डा ल्याएर खानुपर्ने अवस्था आउँथ्यो ।”

    पोखरेलले कुखुरा पालिरहेकाहरू अधिकांशको ठुलो मात्रामा बैंक ऋण रहेको बताए । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरूले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । व्यवसाय सञ्चालनका क्रममा बैंकबाट लिएको ऋणको व्याजसमेत तिर्न नसक्दा कुखुरा पालक किसान यस क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । कोभिड सङ्क्रमणको समयमा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । 

    त्यति बेलाको नोक्सान धान्न मुस्किल भएको उनको भनाइ छ । अहिले नेपालमा दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको लागत मूल्य रु १६ दशमलव ५६ पर्ने गरेको विज्ञहरू बताउँछन् । सघंको दुई वर्षको लगातारको वजारीकरणपछि भने लागत मूल्य पाउन किसान सफल भएको कार्यकारी पोखरेल बताउँछन् ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend