काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जे–क्युङ (Park Jae-kyung) सँग कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (KOTTAN) को प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
दक्षिण कोरियाको नेपालस्थित राजदूतावासमा भएको भेटमा कोट्टानका अध्यक्ष अमरबहादुर शाही, वरिष्ठ उपाध्यक्ष आङ दोर्जे शेर्पा, महासचिव अर्जुनकुमार पौडेल र कोषाध्यक्ष ङावा ङिमा शेर्पाको सहभागिता रहेको थियो।
भेटका क्रममा नेपाल र दक्षिण कोरियाबीचको पर्यटन प्रवर्द्धन, आपसी सहकार्य तथा समसामयिक विषयमा छलफल भएको एसोसिएसनले जनाएको छ। सो अवसरमा कोट्टान प्रतिनिधिमण्डलले संस्थाले हालसम्म गरेका गतिविधि तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि अघि बढाएका कार्यहरूको संक्षिप्त जानकारी राजदूत समक्ष प्रस्तुत गरेको थियो।
जवाफमा राजदूत पार्कले आगामी दिनमा कोट्टानसँग आवश्यक सहयोग र सहकार्य गर्न सक्दो पहल गर्ने आश्वासन दिएको एसोसिएसनले जनाएको छ।
नवनियुक्त राजदूतसँगको भेटले नेपाल र दक्षिण कोरियाबीच पर्यटन लगायत आपसी सहयोगका विभिन्न क्षेत्रमा सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने विश्वास कोट्टानले व्यक्त गरेको छ।
एसोसिएसनले राजदूत पार्कको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको कार्यकालमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, पर्यटन प्रवर्द्धन तथा पारस्परिक सहकार्य थप सुदृढ हुने अपेक्षा गरेको छ।




.gif)





