मनाङ, ११ असोज । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ । गाउँमा बाढी पसेपछि ताल गाउँजवासी स्थानीयको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य भएका छन् । लगातारको वर्षापछि मर्स्याङ्दीको जलसतह बढेर गाउँमा बाढी पस्दा एक मात्र बाढीले प्रभाव नपारेको स्थानीयको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य भएको नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङले जानकारी दिएका छन् ।
“हिजोसम्म ठीकै थियो, रातिभर पानी परेपछि भने तालगाउँमा पानी पसेको छ । अहिले स्थानीय आन्द्रे गुरुङ र स्वास्थ्य चौकीमा स्थानीयवासीसहित हामी बसेका छौँ”, उनले भने, “उद्धारका लागि कोही पनि आउने अवस्था छैन । मस्र्याङ्दी पार नगरीकन हुँदैन । यसपटक तालगाउँ डुबान प¥यो ।”
हालसम्मका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कुनै पनि माध्यम नभएको वडाध्यक्ष गुरुङले बताएका छन् । ६४ घरधुरीको बसोबास रहेको तालगाउँ डुबानमा परेको उनले बताएका छन् । गुरुङका अनुसार निरन्तरको वर्षासँगै विभिन्न ठाउँमा विद्युतीय पोलमा क्षति हुँदा विद्युत् आपूर्ति र सञ्चार नै अवरुद्ध भएको छ ।
विसं २०७८ जेठ १४ र असार १ गते मस्र्याङ्दीमा आएको बाढी गाउँ पूर्ण रुपमा डुबान परेको थियो । गाउँ डुबानमा परेपछि बगर बनेको थियो । नासोँ–७ र ८ जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको नासोँ–८ का वडाध्यक्ष याद घलेले जानकारी दिएका छन् । उनका अनुसार बाढीले पुल बगाएपछि स्थानीयवासी आवतजावत अवरुद्ध भएको छ ।
चामे गाउँपालिका–४ स्थित तीन घरसमेत घट्टेखोलामा आएको बाढीले क्षति पुगेको स्थानीय फुर्वा लामाले जानकारी दिएका छन् । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । चामेको घट्टेखोलाको बाढीले जोखिम बढी भएको छ । मर्स्याङ्दी नदी तथा खाना घट्टेखोलामा आएको बाढीले मनाङको सदरमुकाम चामे र तालगाउँ लगायतका स्थान जोखिम बढेको छ ।
–––




.gif)





