काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले दाबी गरेको छ।शुक्रबार र शनिबार झरीका बाबजुद फिल्मले देशभरका हलमा राम्रो दर्शक पाएको निर्माण पक्षको दाबी छ। शुक्रबारको तुलनामा शनिबार फिल्मका अधिकांश शोमा दर्शकको उपस्थिति राम्रो देखिएको जनाइएको छ। फिल्मको व्यावसायिक विवरण भने सार्वजनिक गरिएको छैन।फिल्मका निर्देशक हरि लम्सालका अनुसार फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्मले प्रस्तुत गरेको बुबाको कथा दर्शकले रुचाएको उनको भनाइ छ।
‘कतिपय फिल्म हेर्ने अभिभावकले आफ्ना सन्तानलाई पनि फिल्म देखाउनुपर्ने रहेछ भन्ने प्रतिक्रिया दिनुभएको छ,’ निर्देशक लम्सालले भने, ‘आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सिने सन्तानका लागि ‘बाः एक योद्धा’ नैतिक शिक्षा बनेको दर्शकको प्रतिक्रिया छ।’अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई ‘बाः एक योद्धा’ देखाए त्यसको प्रभाव उनीहरूको जीवनमा पर्ने लम्सालको भनाइ छ।फिल्मको मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने दुःखलाई समेत फिल्मले कथामा समेटेको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ।निर्देशक लम्सालकै लेखन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता वसन्त लम्साल र कार्यकारी निर्माता अनिल बुढाथोकी हुन्।




.gif)





