लमजुङ । निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका-६ मा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि बिहानदेखि आवागमन अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरी सडकमा खसेको पहिरो हटाएपछि दिउँसोदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अलपत्र परेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
यता बिहानैदेखि अवरुद्ध डुम्रे-बेँसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१ मा खसेको पहिरो हटाएपछि सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले बताए ।सडकमा ढुङ्गा माटोसहितको पहिरो खसेर अवरुद्ध भएको उक्त सडक खण्डबाट पहिरो हटाएपछि अहिले कुनै अवरोध नरहेको र सवारी साधन सञ्चालन भइरहेको उनले जानकारी दिए ।बेँसीसहर-चामे सडकखण्डका विभिन्न स्थानमा भने पहिरो गएकाले सडक अवरुद्ध कायमै छ । सूचना अधिकारी विष्टका अनुसार धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन समय लाग्ने देखिन्छ ।




.gif)



