वाराणसी । भारतको उत्तर प्रदेशस्थित वाराणसीको ‘अपना घर आश्रम’मा पछिल्लो एक वर्षमा ५५ जना वृद्ध वृद्धाको मृत्यु भएको छ । आश्रमका सञ्चालकका अनुसार उनीहरू जीवित हुँदा आफन्तले चासो नदिए पनि मृत्यु भएपछि भने कतिपय आफन्त शव लिन आश्रम पुग्ने गरेका छन् । यसको पछाडि बीमा रकम, सम्पत्ति तथा जमिनमाथिको दाबी मुख्य कारण हुने गरेको आश्रमको दाबी छ ।आश्रमका सञ्चालक डा. के. निरञ्जनका अनुसार कतिपय परिवारका सदस्य आफ्ना वृद्ध आमाबुबाको स्वास्थ्य अवस्था बुझ्नसमेत आश्रम आउँदैनन् । तर मृत्यु भएपछि बीमा दाबी गर्न वा सम्पत्तिमा आफ्नो अधिकार प्रमाणित गर्न आवश्यक पर्ने भएकाले शव लिन आउने गरेका छन् । कतिपय आफन्त भने अन्त्येष्टि भइसकेपछि शव लिन नआएर मृत्यु प्रमाणपत्र मात्रै लिन आउने गरेको पनि आश्रमले जनाएको छ ।
आश्रमका अनुसार केही वृद्धवृद्धालाई उनीहरू जीवितै छँदा परिवारका सदस्यले आश्रममा छाडेर जाने गरेका छन् । मृत्यु भएपछि भने उनीहरूको सामान, पैसा, गहना र कपडासमेत लैजाने कोसिस गर्ने गरेका छन् । आश्रमले भने त्यहाँ आउने प्रत्येक व्यक्तिको सामान सुरुदेखि नै ट्याग गरेर राख्ने र त्यसको तस्बिरसमेत खिचेर रेकर्ड राख्ने गरेको जनाएको छ ।
महिलाका हकमा झन् जटिल अवस्था
आश्रमका अनुसार कुनै महिला वृद्धाको मृत्यु भएपछि शव कसले लैजाने भन्ने प्रश्नसमेत जटिल बन्ने गरेको छ । कतिपय अवस्थामा माइती, ससुराली र पतिसमेत शव लैजान अस्वीकार गर्ने गरेका छन् । आश्रमले आफन्तलाई बोलाउन फोन गर्दा विभिन्न बहाना बनाउने गरेको डा. निरञ्जनले बताएका छन् ।आश्रममा अहिले करिब २७५ महिला बसिरहेको जनाइएको छ । डा. निरञ्जनले १०५ वर्षीया एक महिलाको उदाहरण दिँदै उनले सौतेनी छोरालाई धर्मपुत्रका रूपमा हुर्काए पनि अहिले ती छोरा आमालाई भेट्न आउन अस्वीकार गरिरहेको बताए । ती पुरुषले आफू चौरसिया समुदायको र आमालाई ब्राह्मण भएको भन्दै आफू उनको छोरा कसरी हुन सक्ने प्रश्न गरेको डा. निरञ्जनको भनाइ छ ।
दुबईमा रहेका छोरा, मृत्यु भएपछि शव लिन आए
आश्रममा रहेका ६५ वर्षीय एक वृद्धलाई वाराणसीको बेनियाबाग क्षेत्रमा लावारिस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो । उनी करिब एक वर्षदेखि आश्रममा बस्दै आएका थिए ।ती वृद्धका छोरा दुबईमा रोजगारीमा थिए । वृद्ध बिरामी भएपछि आश्रमले छिमेकमा रहेका एक आफन्तलाई पटक–पटक जानकारी गराएको भए पनि उनी भेट्न आएनन् । वृद्धको मृत्यु भएपछि भने दुबईमा रहेका छोरा दुई दिनपछि वाराणसी आएर शव लिएर गएको आश्रमले जनाएको छ ।
तीनवटा सुनचाँदी पसल र पाँच बिघा जमिन
दरभंगाका ७० वर्षीय एक सुनचाँदी व्यवसायी परिवारसँग असन्तुष्ट भएर जीवनको अन्तिम समय बिताउन काशी आएका थिए । केही समयपछि उनी गंगाको किनारमा घाट नजिक बेहोस अवस्थामा भेटिएपछि आश्रममा ल्याइएको थियो ।आश्रममा करिब छ महिना बिताएपछि उनले आफ्नो परिवारसँग सम्बन्धित सम्पत्तिबारे जानकारी दिएका थिए । उनका अनुसार गाउँमा तीनवटा सुनचाँदीका पसल र पाँच बिघा जमिन थियो । उनी बिरामी हुँदा परिवारका सदस्य उनलाई भेट्न नआएको तर मृत्यु भएपछि भने आफन्त शव लिन आश्रम पुगेको आश्रमको भनाइ छ ।
५० लाखको बीमा भएका वृद्ध
देवरियाका ६० वर्षीय एक वृद्ध जमिनदार परिवारका थिए । उनले आफ्नै नाममा ५० लाख भारतीय रुपैयाँको बीमा गराएका थिए । उनी तीन वर्षदेखि आश्रममा बस्दै आएका थिए ।बीचमा बिरामी भएर अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदा छोरा भेट्न नआएको आश्रमले जनाएको छ । तर वृद्धको मृत्यु भएको भोलिपल्टै छोरा आएर शव लिएर गएको बताइएको छ ।आश्रमका सञ्चालकले यस्ता घटनाले वृद्धवृद्धाप्रतिको पारिवारिक जिम्मेवारी र सामाजिक सम्बन्धबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । उनीहरूका अनुसार जीवित छँदा हेरचाह नगर्ने तर मृत्यु भएपछि सम्पत्ति, बीमा वा अन्य कानुनी प्रयोजनका लागि मात्रै बा–आमा वा आफन्तको शव खोज्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।




.gif)





