images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, पूर्ण...

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, पूर्ण क्षमतामा भरिन ७ मिटर बाँकी

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, पूर्ण क्षमतामा भरिन ७ मिटर बाँकी

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • मकवानपुर । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ । पूर्ण क्षमतामा जलाशय भरिन अब जम्मा ७ मिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार बिहान ६ बजे कुलेखानी जलाशयमा १ हजार ५२२.३१ मिटर पानी मापन गरिएको थियो भने ३ घण्टापछि (बिहान ९ः३०मा) पानीको सतह बढेर १ हजार ५२२.६० मिटर पुगेको छ ।पछिल्लो समय जलाशयको जलाधार क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण पानीको सतह बढ्दै गएको राउतले बताए ।

    images
    images

    भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्यहाँका विद्युत् आयोजनाहरूमा क्षति पुगेपछि भदौको दोस्रो सातादेखि नै कुलेखानी जलविद्युत् आयोजना पूर्ण क्षमता (फुल लोड) मा सञ्चालन हुँदै आएको राउतको भनाइ छ ।भोटेकोशी बाढीको असरले राष्ट्रिय ग्रिडमा सिर्जना भएको ऊर्जाको माग धान्न कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन गर्नुपरिरहेको राउतले बताए ।आयोजनाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण दैनिक १५ देखि २० सेन्टिमिटरसम्म पानी प्राकृतिक रूपमा जलाशयमा थपिने गरेको उनको भनाइ छ । तर, तीन वटै युनिटबाट २४ सै घण्टा फुल फेजमा विद्युत् उत्पादन गरिरहँदा दैनिक २५ देखि ३० सेन्टिमिटरसम्म पानी खपत भइरहेकाले हाल सन्तुलित अवस्थामा रहेको उनले बताए ।कुलेखानी जलाशयमा ७ वटा जलाधार क्षेत्रबाट पानी सङ्कलन हुने गरेको उनले जानकारी दिए ।

    असोज ८ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्नुको साथै उच्च सतर्कता अपनाइएको आयोजना प्रमुख राउतले बताए । २०८१ साल असोज १२ गते बिहान कुलेखानी जलाशय भरिएर एक्कासि बाँधको ढोका खोल्दा सिमखोलाको पुल, सिस्नेरीको सडक तथा ४९ वटा घर बगाएको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै जलाशयमा पानी सञ्चिति सामान्य अवस्थामा राख्न प्रयत्न भइरहेको उनले बताए ।कुलेखानीको जोखिमलाई मध्यनजर गर्दै यसपटक सुरक्षा र पूर्वतयारीलाई विशेष प्राथमिकता दिइएको आयोजना प्रमुख राउतले रातोपाटीलाई बताए । विगतको जस्तो मानवीय तथा भौतिक क्षति दोहोरिन नदिन यस पटक पानीको सतह र निकासलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजना पक्ष प्रयासरत रहेको प्रमुख राउतको भनाइ छ ।

    images
    images

    सुरक्षाका लागि तीन तहको साइरन बजाइने

    जलाशयको पानीको सतह बढेर स्पिलवे गेट (मुख्य ढोका) खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वजानकारी दिन तीन तहको साइरन प्रणालीको व्यवस्था गरिएको छ । राउतका अनुसार कुलेखानी जलाशयले सतर्कता तह पार गर्ने अवस्थामा तीन चरणमा साइरना बजाइने छ ।साइरनको सङ्केत बुझेर सतर्कता अपनाउन स्थानीय बासिन्दालाई अनुरोध गरेको उनले बताए । पहिलो सङ्केतका रूपमा एक मिनेट लगातार लामो साइरन बजाइने छ, जसले जलाशयमा पानी भरिन लागेको सङ्केत दिने र सो अवस्थामा नदी तथा खोला किनारमा जान पूर्ण रुपमा रोक लगाइएको छ ।दोस्रो सङ्केत दुई मिनेट लगातार दुई पटक साइरन बजाइने छ । जसले जलाशयको पानीको सतह उच्चतम बिन्दुमा पुगेको सङ्केत गर्ने र सो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवतीलाई सुरक्षित स्थानमा सार्न र पशुचौपाया समेत सुरक्षित राख्न आग्रह गरिएको छ भने देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा समेत सावधानीपूर्वक हिँड्न भनिएको छ ।

    तेस्रो सङ्केत छोटो–छोटो अन्तरालमा लगातार तीन पटक साइरन बजाइने छ, जसले आपत्कालीन चेतावनी दिने र ड्यामका मुख्य ढोकाहरु खोलिएको र नदीमा बाढीको सतह अत्यधिक बढ्ने भएकाले तत्काल खोला किनार छाडेर अग्लो तथा सुरक्षित स्थानमा जान र उक्त सडकखण्डमा आवतजावत पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ ।कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुग्ने बित्तिकै पहिलो चरणको साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए । हाल आयोजनाको समग्र अवस्था सन्तोषजनक रहे पनि मनसुनको अवधिमा ड्याम पूर्ण क्षमतामा भरिन सक्ने सम्भावना उच्च रहेको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend