जनकपुरधाम । भोटेकोशीमा आएको विध्वंसकारी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट, धादिङका पीडित परिवारलाई उद्योग वाणिज्य संघ जनकपुरले राहत सामग्री पठाएको छ । मानवीय सेवामा हाम्रो एकता भन्ने मूल नाराका साथ पीडितहरूका राहतका लागि सामग्री जुटाउन संघले एक हप्ता देखि सार्वजनिक रूपमा आव्हान गर्दै सबैलाई सहयोग गर्न आग्रह गरेको थियो । संघका अनुसार पीडितहरूका लागि करिब १ करोड बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री पठाएको जनाएको छ ।
संघले कार्यालय परिसरमा सङ्कलित सामग्री सार्वजनिक गर्दै प्रभावित स्थलमा लैजान सवारी नपाएकोले केही ढिला हुन गएको जनाएको छ । संघका अनुसार सङ्कलित लत्ताकपडाका सामग्रीहरूमा लेडिज सुट १ हजार ३ सय ७० थान, साडी १ हजार ४ सय ४४ थान, बालबालिका कपडा ७ सय ६५ थान, जिन्स पाइन्ट ४ सय ६५ थान, जेन्ट्स सर्ट १ हजार ८ सय ५२ थान, लेडिज कुर्ता ३ सय २२ थान, ट्रयाक सुट सेटमा १ हजार ३ सय ४४ थान पठाएको जनाएको छ । त्यसैगरि ३ सय २५ थान बालबालिका जुत्ता, २ सय ५८ लेडिज जुत्ता, १ सय ६१ थान लेडिज चप्पल, ४ सय ५६ थान प्लास्टिक चप्पल, २ सय १० थान टावेल र अन्य महिला पुरुषहरुका भित्री वस्त्र रहेको छ । खाद्यान्नतर्फ ७५ बोरा चामल, २१ बोरा सोयाबिन, १ बोरा दाल, ४ बोरा नुन, ४१ बोरा चिउरा, २८ बोरा मुरही, तथा ३१ कार्टुन चाउचाउ रहेका छन् भने ३ बोरा डायपर, ३ बोरा स्टेपेरी, १ कार्टुन चियापत्ती समावेश रहेको जनाएको छ ।
त्यसैगरि पीडितहरूका लागि खाना पकाउने सामग्री तर्फ ७५ थान तावा तथा कराही, २/२ सय पिस थाल, कचौरा, ग्लास, सानो कचौरा र ठुलो कचौरा रहेका छन् । सरसफाइका लागि ३२ थान फिनेल, १५ थान ट्वाईलेट ब्रस र ३४ थान हरिपिक्ससंगै एक थान कपडा सिलाई मेसिन पठाएको जनाएको छ । उवासंघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीले रसुवाको भोटेकोशीमा आएको बाढीले देशमा ठुलो क्षति पुर्याएको बेला सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका बेला हामी उद्योगी व्यवसायीहरुको तर्फबाट यो सहयोग पठाएको बताए । उनका अनुसार बाढी प्रभावित स्थलमा पठाउन सवारीसाधन नपाउँदा अलि ढिलो भएपनि आज पठाएको बताए । संघले पठाउन राहत सामग्रीहरू मंगलबार नै एक कार्यक्रम गरि सार्वजनिक गर्दै सङ्कलित सामग्रीहरू आज पठाएको जनाएको छ ।




.gif)





