images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी जलवायु सङ्कटको गम्भीर चेतावनी...

भोटेकोशी बाढी जलवायु सङ्कटको गम्भीर चेतावनी हो : मन्त्री चौधरी

भोटेकोशी बाढी जलवायु सङ्कटको गम्भीर चेतावनी हो : मन्त्री चौधरी

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् ।उनले आज तिमोर–लेस्तेको डिलीमा आयोजना भइरहेको अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले चीनसँगको उत्तरी सीमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टानसहितको बाढी पहिरोका कारण अकल्पनीय जनधनको क्षति भएको बताइन् ।मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित मुलुक (एलडिसी)लाई जलवायु न्यायका लागि एकजुट भएर आवाज उठाउन आह्वानसमेत गरिन्  ।

    images
    images

    “यही भदौ १० मा गएको विपद्मा परी हालसम्म एक हजार २०६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार २१६ भन्दाबढी नागरिक अझै बेपत्ता छन् । विपद्का कारण १५ हजार घरपरिवारका करिब ६० हजार मानिस विस्थापित भएका छन्”, उनले भनिन्, “अतिकम विकसित मुलुकको मन्त्रिस्तरीय बैठकलाई आज यहाँ सम्बोधन गर्दै जलवायु सङ्कट सिर्जना गर्न नगण्य योगदान गरेका मुलुकले नै त्यसको सबैभन्दा ठूलो मार खेपिरहेकाले जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ ।”मन्त्री चौधरीले भोटेकोशी विपदबाट नेपालको इतिहासमै अभूतपूर्व र अकल्पनीय क्षति भएको उल्लेख गर्दै उनले ७४९ मेगावाट उत्पादन क्षमता भएका ११ वटा जलविद्युत् आयोजना, १०० भन्दाबढी पुल, ११८ वटा टेलिकम टावर र करिब १८७ किलोमिटर राष्ट्रिय राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिइन् । प्रारम्भिक आकलनअनुसार आर्थिक हानी नोक्सानी चारदेखि पाँच अर्ब अमेरिकी डलर बराबर रहेको उनले बताइन् ।

    “गैरआर्थिक क्षतिको गणना हुन बाँकी भए पनि त्यस्तो क्षति आर्थिक क्षतिको दुईदेखि तीनगुणासम्म हुनसक्ने र धेरैजसो क्षति अपूरणीय रहने अनुमान गरिएको छ”, उनले भनिन्, “प्रारम्भिक अध्यानअनुसार चट्टान र बरफको पहिरो तथा त्यसलगत्तै नदीको बहाव थुनिएर एक्कासी फुट्दा विपद् आएको देखिएको छ ।”नेपाल सरकारको पहिलो प्राथमिकता जनधन र जीविकोपार्जनको रक्षा गर्नु रहेको उल्लेख गर्दै उनले खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन् । सुरक्षा निकाय,सरकारी कर्मचारी, स्थानीय समुदाय, स्वयंसेवक,नागरिक समाज, विकास साझेदार र सञ्चारकर्मीलगायत सबैको प्रयास परिचालन गरिएको उनले जानकारी दिइन् ।सीमापार प्रकृतिका जलवायु तथा प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै नदी प्रणालीको व्यवस्थापनका लागि क्षेत्रीय साझेदारी र सहकार्य अपरिहार्य रहेको मन्त्री चौधरीको जोड छ ।उनले भोटेकोशी विपद् जलवायु सङ्कटबाट सिर्जित जोखिमको एउटा गम्भीर चेतावनी भएको बताउँदै यस्तो घटना पहिलो र अन्तिम नहुने उल्लेख गरिन् । “नेपालसहितका अतिकम विकसित मुलुकले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेप्नुपरेको छ”, मन्त्री चौधरीले भनिन्, “हानिनोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पूर्ण रूपमा सञ्चालनमा ल्याई जलवायु विपद्को सामना गरिरहेका मुलुकका लागि सहज र पहुँचयोग्य बनाउनुपर्छ ।”

    images
    images

    भोटेकोशी विपद्लाई उक्त कोषमार्फत द्रुत प्रतिक्रिया सहयोगका लागि विचार गर्नुपर्ने प्रस्ताव गर्दै उनले नेपालले यससम्बन्धी आधिकारिक निवेदन पेस गरिसकेको जानकारी दिइन् ।उनले अतिकम विकसित तथा पर्वतीय मुलुकको अस्तित्व र विकासका लागि विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा जोड दिइन् । तापक्रम वृद्धिको ‘ओभरसुट’ दायरा र अवधि सीमित गर्नुपर्ने तथा ऐतिहासिक र वर्तमान प्रमुख उत्सर्जकले तत्काल र व्यापक रूपमा उत्सर्जन घटाउनुपर्ने उनको भनाइ छ ।जीवाश्म इन्धनमा आधारित विकासबाट दशकौँदेखि बढी लाभ लिएका तथा कार्य गर्ने उच्च क्षमता भएका राष्ट्रको उत्सर्जन न्यूनीकरणमा विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कियको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा मा जीवाश्म इन्धनमाथिको निर्भरतालाई तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।“विकसित मुलुकले पेरिस सम्झौताको धारा ९ बमोजिम नयाँ, अतिरिक्त, अनुमानयोग्य र अनुदानमा आधारित सार्वजनिक जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग गर्दछु”, मन्त्री चौधरीले भनिन्, “संयुक्त राष्ट्रसङ्घको जलवायु प्रक्रियामा पहाड र हिमाललाई केन्द्रीय प्राथमिकतामा राख्नुपर्छ । पर्वतीय पारिस्थितिक प्रणालीले स्वच्छ पानी र हावा उपलब्ध गराउँदै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसलाई पर्यावरणीय सेवा प्रदान गरिरहेको छ ।”

    उनले पर्वतीय समुदाय विशेषगरी आदिवासी तथा स्थानीय समुदायले भौगोलिक दुर्गमता, गरिबी, कमजोर पारिस्थितिक प्रणाली र जलवायु–संवेदनशील प्राकृतिक स्रोतमा निर्भरताका कारण असाधारण कठिनाइ भोगिरहेको बताइन् ।मन्त्री चौधरीले नेपालले कोप–३१ मा हिमाल र जलवायु परिवर्तनलाई छुट्टै प्राथमिकताका रूपमा मान्यता दिन तथा यससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना (युएनएफसिसीसी) संवादलाई वार्षिक रूपमा संस्थागत गर्न माग गर्ने उनले जानकारी दिइन् ।अनुकूलन, विपद् जोखिम न्यूनीकरण र विकास योजनालाई एकीकृत गर्नुपर्नेमा जोड दिँदै उनले अनुगमन प्रणाली, सीमापार तथ्याङ्क आदानप्रदान, बहुजोखिम पूर्वसूचना प्रणाली, जलवायु–उत्थानशील पूर्वाधार, सुदृढ संस्था र पूर्वतयारीयुक्त समुदाय निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन् ।नेपालले महत्वाकाङ्क्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी–३.०) पेस गरिसकेको उल्लेख गर्दै मन्त्री चौधरीले प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अघि बढ्न नेपाल तयार रहेको बताइन् ।

    “अतिकम विकसित मुलुकले सहानुभूति होइन; न्याय, एकजुटता र कार्यान्वयन चाहन्छन्”, मन्त्री चौधरीले भनिन्, “हाम्रा जनताले धेरै आश्वासन सुनिसके । अब उनीहरूलाई जीवनको रक्षा गर्ने, जीविकोपार्जनको पुनःस्थापना गर्ने र उत्थानशील भविष्य निर्माण गर्ने ठोस कदम चाहिएको छ ।”उनले कोप–३१ कार्यान्वयन, महत्वाकाङ्क्षा, एकजुटता र जलवायु न्यायको सम्मेलन हुनुपर्ने बताइन् । नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’को दृष्टिकोणलाई जोड दिन चाहेको उल्लेख गर्दै मन्त्री चौधरीले नेपालका हिमालदेखि टिमोर–लेस्टेका तटसम्म जलवायु भविष्य आपसमा जोडिएको बताइन् ।“हाम्रा जोखिमले हामीलाई एकजुट बनाउनुपर्छ, हाम्रो ऐक्यबद्धताले हामीलाई बलियो बनाउनुपर्छ, र हाम्रो सामूहिक आवाजले जलवायु न्याय दिलाउनुपर्छ”, उनले भनिन् ।हिमालमा आउने जलवायु विपद् सीमापार प्रकृतिका हुने भएकाले तल्लो तटीय क्षेत्रको जीवन बचाउन क्षेत्रीय दृष्टिकोण आवश्यक रहेको उनले बताइन् । जलवायु कार्य वार्ताको विषय मात्र नभई मानवता, न्याय र अस्तित्वको विषय भएको उल्लेख गर्दै उनले एलडीसी समूहको एकता र नेतृत्वप्रति नेपालको पूर्ण समर्थन रहेको बताइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend