काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जेनजी युवाहरू राहत सामग्री लिएर नुवाकोट पुगेका छन् ।कमन जेनजी नेपालले आगामी भदौ २३ गते काठमाडौंमा गर्ने पूर्वनिर्धारित संघर्षका कार्यक्रम स्थगित गर्दै राहत तथा उद्धारमा जुट्ने निर्णय गरेको हो ।कमन जेनजी नेपालका अध्यक्ष विकेश साहको नेतृत्वमा युवाहरू अत्यावश्यक औषधि तथा खाद्यान्न सामग्रीसहित दुई गाडी लिएर मंगलबार नुवाकोट पुगेका हुन् । उनीहरूले सम्भव भएसम्म रसुवासम्म पुगेर बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने बताएका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी आएको भोलिपल्टै नुवाकोट पुगेका जेनजी युवाहरू पुनः राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।यसअघि कमन जेनजी नेपालले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर विपद्का कारण उक्त कार्यक्रम स्थगित गरी अहिले राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरिएको अध्यक्ष साहले बताए ।‘यसअघि हामीले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेका थियौँ । तर संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरेर अहिले बाढीपीडितको राहत तथा उद्धारमा जुट्ने निर्णय गरेका छौँ । सोहीअनुसार अत्यावश्यक औषधि र खाद्यान्न सामग्री लिएर नुवाकोट पुगेका छौँ,’ साहले भने ।




.gif)



