काठमाडौँ । नेपाली चलचित्र ‘डियर काव्या’ निर्माण घोषणा गरिएको छ । बिजेश्वरीस्थित होटल बज्रमा एक कार्यक्रम गर्दै गोल्डेन वल्फ पिक्चर्सले फिल्म घोषणा गरेको हो ।फिल्ममा उपासनासिंह ठकुरी, बिक्की शमशेर खड्का, गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुनमगर लगायत कलाकारको अभिनय रहनेछ । बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु फिल्म हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् ।
श्रद्धा प्रसाईंले निर्देशन गर्ने फिल्म ‘डियर काव्या’ को छायाङ्कन आगामी मङ्सिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । देवी सिंह र हेमकुमारी भेटुवाल निर्माता रहेको फिल्ममा दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् ।घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन् । उनले यो आफ्नो दोस्रो निर्देशकीय फिल्म भएको बताउँदै यसअघि निर्देशन गरेको ‘ककाकिकी’ पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् । ‘डियर काव्या’ का लागि पनि आफूहरूले भरपुर मेहनत गर्ने उनको भनाइ थियो ।
त्यस्तै, अभिनेत्री उपासनासिंह ठकुरीले ‘डियर काव्या’ का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेष गरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलो पटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् ।




.gif)





