काठमाडौं। सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा आजदेखि नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले सुरु गरेको आन्दोलन बुधबार साँझ सहमतिसँगै फिर्ता लिइएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको वार्तापछि सहमति भएको थियो। वार्तामा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए।
सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै बिहीबारदेखि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। आह्वानमा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश सेवा स्थगित भएका थिए। त्यसका कारण ओपीडी, शल्यक्रिया र अन्य नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए।सहमतिअनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम गृह मन्त्रालयले थप कानुनी कारबाही अघि बढाउनेछ।
नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा मुलुकी अपराध संहिता, २०७४ का सम्बन्धित प्रावधान संशोधन गर्न आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।त्यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्य सेवासम्बन्धी व्यवस्थामा आवश्यक संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपाल चिकित्सक संघको सहभागितासहित सात दिनभित्र कार्यदल गठन गरिनेछ। कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाइने सहमति भएको छ।सरकार र नेपाल चिकित्सक संघबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय र चिकित्सक संघका प्रतिनिधि सम्मिलित अर्को कार्यदल तीन दिनभित्र गठन गर्ने निर्णय पनि गरिएको छ।सहमतिसँगै चिकित्सक संघले आन्दोलन स्थगित गरी देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसपछि बिहीबारदेखि सरकारी तथा निजी अस्पतालमा ओपीडी, शल्यक्रिया, प्रयोगशाला तथा अन्य नियमित सेवा पुनः सुचारु भएका छन्।
सरकार र चिकित्सक संघबीच भएको सहमतिले तत्कालका लागि स्वास्थ्य सेवा अवरुद्ध हुने अवस्था अन्त्य भएको छ भने स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्थामा सुधारको प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।




.gif)





