ब्राजिल। ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए। न्यु जर्सीमा भएको खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयको पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन। घाइते अवस्थाबाट फर्किए पनि पूरा प्रभाव देखाउन सकेनन् ।
विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिए। उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए।




.gif)





