फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा क्वार्टरफाइनलअघि नै अत्यन्त रोमाञ्चक बनेको छ। नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले ब्राजिलविरुद्ध अन्तिम १६ को खेलमा दुई गोल गर्दै आफ्नो कुल गोल संख्या सात पुर्याएका छन्। यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एमबाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।
हालसम्म तीनै खेलाडीले समान सात–सात गोल गरेका छन्। तर, फिफाको टाइब्रेकरअनुसार असिस्टका आधारमा फ्रान्सका एमबाप्पे शीर्ष स्थानमा छन्। उनले दुई असिस्ट दिएका छन् भने हालान्ड र मेसीले अहिलेसम्म कुनै असिस्ट गरेका छैनन्।
हालान्डले समूह चरणमा इराकविरुद्ध दुई तथा सेनेगलविरुद्ध दुई गोल गरेका थिए। त्यसपछि नकआउट चरणमा आइभोरी कोस्टविरुद्ध एक गोल गरेपछि ब्राजिलविरुद्ध दुई गोल थप्दै सात गोलको कीर्तिमान बराबरी गरेका हुन्।
यता, अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले समूह चरणमै उत्कृष्ट लय देखाएका थिए। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्ध दुई, जोर्डनविरुद्ध एक र अन्तिम ३२ को खेलमा केप भर्डविरुद्ध एक गोल गर्दै सात गोल पूरा गरेका हुन्।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरेका थिए। त्यसपछि अन्तिम ३२ मा स्वीडेनविरुद्ध दुई तथा अन्तिम १६ मा पाराग्वेविरुद्ध एक गोल गर्दै सात गोल पुर्याएका छन्। गोलसँगै उनले दुई असिस्ट पनि आफ्नो नाममा दर्ता गरेका छन्।
यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केन पाँच गोलसहित गोल्डेन बुटको प्रतिस्पर्धामा कायमै छन्। इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोविरुद्धको क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेको छ।
क्वार्टरफाइनलअघि नै विश्व फुटबलका तीन सुपरस्टार समान गोलसंख्यामा पुगेकाले आगामी खेलहरूले गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।




.gif)





