काठमाडौँ । अष्ट्रेलियामा नेपाली खानाको पहिचान विस्तार गर्न उल्लेखनीय योगदान पुर्याउने नेपाली उद्यमीहरूमध्ये राजु शाक्य अग्रपङ्क्तिमा पर्छन्। नेपाली–अष्ट्रेलियाली समुदायमा उनलाई स्नेहपूर्वक ‘अष्ट्रेलियाका मोमोका राजा’ भनेर चिनिन्छ। यो कुनै औपचारिक उपाधि नभई नेपाली मोमोलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित गर्न तथा नेपालको मौलिक खानालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन उनले पुर्याएको योगदानप्रतिको सामुदायिक सम्मानको प्रतीक हो।
नेपालको पहिलो विश्व खाद्य परिकार शब्दकोश ‘Falang Food Dictionary’ का लेखक तथा हाम्रा संवाददाता शिव न्यौपानेले अष्ट्रेलियामा नेपाली उद्यमशीलता, संस्कृति र खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्याउने नेपाली व्यक्तित्वहरूलाई निरन्तर उजागर गर्दै आएका छन्। उनका अनुसार राजु शाक्यले नेपाली परिकारलाई अष्ट्रेलियाको मूलधारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अग्रणी उद्यमी हुन्।
राजु शाक्यले स्थापना गरेको मोमो किङ्डम (Momo Kingdom), मेलबर्नमा आयोजना हुने चर्चित मोमो फेस्ट तथा विभिन्न अन्तर्राष्ट्रिय डम्प्लिङ महोत्सवहरू नेपाली खानाको प्रवर्द्धनका महत्वपूर्ण माध्यम बनेका छन्। यी कार्यक्रममार्फत हजारौँ अष्ट्रेलियाली तथा विभिन्न देशका उपभोक्ताले नेपाली मोमोको स्वाद चाख्ने अवसर पाएका छन्।
उनका प्रयासले मोमोलाई केवल लोकप्रिय परिकारका रूपमा सीमित नराखी नेपालको मौलिक संस्कृति, आतिथ्यता र राष्ट्रिय पहिचानको प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न महत्वपूर्ण योगदान दिएको छ।
खाद्य व्यवसायभन्दा बाहिर पनि शाक्य नेपाली भाषा, संस्कृति, पर्यटन प्रवर्द्धन तथा नेपाली समुदायबीच एकता र सहकार्य सुदृढ बनाउन विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनको उद्यमशीलता, नेतृत्व क्षमता र दूरदर्शी सोचले नेपाली परम्परागत परिकारलाई नेपाल र अष्ट्रेलियाबीचको सांस्कृतिक सेतुका रूपमा स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको देखिन्छ।
विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा नेपाली डायस्पोराका यस्ता उद्यमीहरूले आफ्नो परिश्रम, सिर्जनशीलता र सांस्कृतिक पहिचानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने कार्य गरिरहेका छन्। राजु शाक्यको उद्यमशील यात्रा त्यसको एक प्रेरणादायी उदाहरण बनेको छ।
यस्ता व्यक्तित्वहरूको योगदानलाई अभिलेखीकरण, अध्ययन तथा सार्वजनिक रूपमा सम्मान गर्नु नेपाली समुदायको सामूहिक उपलब्धिलाई विश्वसामु उजागर गर्ने सकारात्मक अभ्यास हुने विश्वास गरिएको छ।




.gif)





