काठमाडौँ । बेलायतस्थित नेपाली दूतावासले ‘व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन’ भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ भव्य रूपमा सम्पन्न गरेको छ। लन्डनस्थित दूतावास परिसरमा आयोजित फोरममा व्यापार, लगानी, डिजिटल अर्थतन्त्र र प्रविधि सहकार्यका विषयमा व्यापक छलफल भएको थियो।
फोरमका क्रममा दुईवटा महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच तथा दोस्रो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री बीच सम्पन्न भएको हो।
वेस्ट लन्डन चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेन राइड्स र डेपुटी चेयर डा रेनु राज ले लन्डनबाट हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठी ले काठमाडौंबाट भर्चुअल माध्यममार्फत सम्झौतामा हस्ताक्षर गरेका थिए।
दूतावासका अनुसार यी सम्झौताले नेपाल र बेलायतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, लगानीका अवसर विस्तार गर्ने तथा निजी क्षेत्रबीच सहकार्य र व्यापारिक सञ्जाललाई मजबुत बनाउने उद्देश्य राखेका छन्।
नेपालमा लगानी बढाउन आह्वान
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी ले पछिल्ला वर्षहरूमा नेपाल–बेलायत आर्थिक सम्बन्ध थप सक्रिय बन्दै गएको उल्लेख गर्दै बेलायती व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। उनले नेपाल र बेलायतबीच दोहोरो कर हटाउने सम्झौताबारे छलफल भइरहेको जानकारी दिँदै यसले भविष्यमा व्यापार र लगानीलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।
परराष्ट्र मन्त्री शिशिर खनाल ले भिडियो सन्देशमार्फत नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा विश्वव्यापी मूल्य शृंखलामा नेपालको सहभागिता विस्तार गर्ने नीति लिएको बताए।
उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि र डिजिटल सेवाजस्ता प्राथमिक क्षेत्रमा बेलायती लगानीलाई नेपालले स्वागत गर्ने स्पष्ट पारे।
नेपाललाई आर्थिक साझेदारका रूपमा हेर्न आग्रह
नेपालका लागि ब्रिटिश सर्वदलीय संसदीय समूहकी अध्यक्ष तथा सांसद एलेक्स बेकर ले नेपाललाई केवल विकास सहायता प्राप्त गर्ने मुलुकका रूपमा नभई आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, शिक्षा, प्रविधि र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यतर्फ उन्मुख बनाउनुपर्नेमा जोड दिइन्।
नेपालका लागि बेलायती राजदूत रोब फेन ले दिगो वित्त, डिजिटल रूपान्तरण, स्थानीय नेतृत्व, व्यापार प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढीकरणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए। उनले आर्थिक साझेदारीलाई अझ प्रभावकारी बनाउन लगानी र निजी क्षेत्रको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
डिजिटल अर्थतन्त्र र लगानीमा केन्द्रित छलफल
राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्ल ले नेपालको दिगो आर्थिक वृद्धि र विश्वव्यापी साझेदारीसम्बन्धी दृष्टिकोण प्रस्तुत गर्दै कार्यान्वयनयोग्य नीति, मापनयोग्य परिणाम र विश्वासिलो साझेदारीमार्फत विकासलाई तीव्रता दिनुपर्ने धारणा राखे।
फोरममा लगानी बोर्ड नेपाल ले नेपालमा उपलब्ध लगानीका सम्भावना र नीतिगत सुधारबारे विस्तृत प्रस्तुति दिएको थियो। साथै यूके एक्सपोर्ट फाइनान्स, बेलायती अन्तर्राष्ट्रिय लगानी संस्था, व्यापार तथा व्यवसाय विभागलगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बजार पहुँच, लगानी सहजता, कृत्रिम बुद्धिमत्ता ९एआई०, प्रविधि नवप्रवर्तन, आउटसोर्सिङ, व्यावसायिक सेवा तथा डिजिटल अर्थतन्त्रका विषयमा रणनीतिक छलफल गरिएको थियो। सहभागीहरूले नीतिगत स्पष्टता, संस्थागत सहकार्य, दक्ष जनशक्ति विकास तथा सरकार–निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको औंल्याएका थिए।
१५० भन्दा बढी सहभागी
फोरममा १५० भन्दा बढी नीति निर्माता, सांसद, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ, चेम्बर प्रतिनिधि, उद्यमी तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको दूतावासले जनाएको छ।
फोरमको पूर्वसन्ध्यामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्स ले दूतावासमा रात्रिभोज तथा व्यवसायी–लगानीकर्ताबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
समापन मन्तव्यमा कार्यवाहक राजदूत विपिन दुवाडी ले सहभागी, वक्ता तथा आयोजकप्रति आभार व्यक्त गर्दै नेपाल–बेलायत आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन दूतावास निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा आयोजित नेटवर्किङ सत्रले नयाँ व्यापारिक साझेदारी, लगानी सहकार्य र भावी आर्थिक अवसर पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ। कार्यक्रमको सञ्चालन दूतावासका द्वितीय सचिव संजोग राई ले गरेका थिए।




.gif)





