images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • युएईमा नेपाली युवाले जितेको रु १.२३...

युएईमा नेपाली युवाले जितेको रु १.२३ अर्ब नेपाल ल्याउने तयारी,

युएईमा नेपाली युवाले जितेको रु १.२३ अर्ब नेपाल ल्याउने तयारी,

लगानीका लागि दूतावाससँग छलफल

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत पाँच नेपाली युवाले जितेको ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड नेपाली रुपैयाँ) नेपाल भित्र्याउने प्रक्रिया सुरु भएको छ। उक्त रकमलाई सुरक्षित, वैधानिक र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित विजेता युवाहरूले अबुधाबीस्थित नेपाली राजदूतावाससँग आवश्यक समन्वय थालेका छन्।

    images
    images

    चिट्ठा जित्नेहरूमा गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने रहेका छन्। उनीहरूले बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावास पुगेर राजदूत तेजबहादुर क्षेत्रीसँग भेट गर्दै रकमलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने विषयमा छलफल गरेका हुन्।

    राजदूतावासका अनुसार विजेता युवाहरूले चिट्ठाबाट प्राप्त रकमलाई नेपाल सरकारको नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक माध्यमबाट स्वदेश ल्याई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्। त्यसका लागि आवश्यक प्रशासनिक तथा कूटनीतिक सहजीकरण गरिदिन उनीहरूले दूतावाससँग आग्रह गरेका छन्।

    images
    images

    भेटका क्रममा राजदूत तेजबहादुर क्षेत्रीले नेपाली युवाहरूको सफलताप्रति खुसी व्यक्त गर्दै चिट्ठाबाट प्राप्त रकम वैधानिक रूपमा नेपाल भित्र्याउन आवश्यक समन्वय र सहयोग गर्न दूतावास प्रतिबद्ध रहेको बताएका छन्। साथै, उनले उक्त रकमलाई नेपालको विकास, आर्थिक समृद्धि तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।

    राजदूत क्षेत्रीले पुँजीको प्रभावकारी उपयोगमार्फत कृषि, पर्यटन, उद्योग, ऊर्जा तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने उल्लेख गर्दै दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्न युवाहरूलाई आग्रह गरेका छन्।

    युएईमा चिट्ठामार्फत प्राप्त भएको यति ठूलो रकम नेपाल ल्याउने प्रक्रिया सुरु हुनु नेपाली वैदेशिक रोजगारीको इतिहासमै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यदि रकम वैधानिक रूपमा नेपाल भित्रिएर उत्पादनमूलक क्षेत्रमा लगानी भएमा त्यसले निजी लगानी, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। तस्बिरः नेपाली राजदूतवास, अबुधाबी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend