काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। अमेरिका र इरानबीच कतारको दोहामा भएको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको समाचारपछि विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको हो।
बिहीबार कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब १.१ प्रतिशत घटेर प्रति ब्यारेल ७०.७८ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) पनि १.२ प्रतिशत घट्दै प्रति ब्यारेल ६७.७४ अमेरिकी डलरमा कारोबार भएको छ। अघिल्लो दिन पनि दुवै सूचकमा एक प्रतिशतभन्दा बढी गिरावट आएको थियो।
कतारको विदेश मन्त्रालयका अनुसार अमेरिका–इरान वार्तामा स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित विषयमा केही सकारात्मक प्रगति भएको छ। यद्यपि, दीर्घकालीन राजनीतिक सहमतितर्फ भने अझै ठोस उपलब्धि हासिल भएको संकेत देखिएको छैन।
विश्लेषकहरूका अनुसार हर्मुज जलमार्ग खुला रहने र तेल आपूर्ति अवरोध नहुने अपेक्षाले बजारमा आपूर्ति बढ्ने विश्वास बलियो बनेको छ। यही कारण तेलको मूल्यमा दबाब परेको हो।
यसैबीच, ओपेक प्लस (OPEC+) समूहका सदस्य राष्ट्रहरूले आगामी अगस्टदेखि तेल उत्पादन थप बढाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उत्पादन वृद्धि हुने सम्भावनाले पनि तेलको मूल्य घटाउन सहयोग पुगेको विश्लेषण गरिएको छ।
विश्वव्यापी लगानी बैंक यूबीएस (UBS) ले पनि अमेरिका–इरानबीचको समझदारी र हर्मुज जलमार्गबाट तेल ढुवानी सहज बन्दै गएको अवस्थालाई आधार मान्दै ब्रेन्ट क्रुडको मूल्यसम्बन्धी आफ्नो पूर्वानुमान संशोधन गरेको छ।
बैंकले सेप्टेम्बर त्रैमासिकका लागि ब्रेन्टको औसत मूल्य पूर्वानुमान २५ डलरले र डिसेम्बर त्रैमासिकका लागि १० डलरले घटाएको छ। यूबीएसका अनुसार अब सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा ब्रेन्ट क्रुडको औसत मूल्य प्रति ब्यारेल ८० डलर तथा सन् २०२७ मा ७५ डलर रहने अपेक्षा गरिएको छ।
यद्यपि, यूबीएसले फारसी खाडी क्षेत्रमा जाने तेल ट्याङ्करहरूको आवागमन अझै पूर्ण रूपमा सामान्य भइनसकेकाले भविष्यमा भूराजनीतिक तनाव बढेमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्न सक्ने जोखिम कायमै रहेको जनाएको छ।एजेन्सी




.gif)





