काठमाडौं, १६ असार । विश्वभर दिगो खाद्य प्रणाली, खाद्य सुरक्षा र जैविक फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइरहेका बेला अष्ट्रेलियाको FOGO (Food Organics and Garden Organics) प्रणाली नेपालका लागि अनुकरणीय मोडेल बन्न सक्ने सुझाव दिइएको छ। नेपालको अग्रणी खाद्य शब्दकोश फलाङ फुड डिक्सनरीका लेखक तथा खाद्य विज्ञ शिव न्यौपानेले नेपालले जैविक फोहोर व्यवस्थापनमा आधुनिक अभ्यास अपनाउन ढिलाइ गर्न नहुने बताएका छन्।
उनका अनुसार विकसित मुलुकहरूले फोहोरलाई बोझ होइन, आर्थिक अवसर र वातावरण संरक्षणको माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सञ्चालन भइरहेको FOGO प्रणाली त्यसको सफल उदाहरण हो। यस प्रणालीअन्तर्गत घरघरमा हरियो ढक्कन भएको विशेष बिन र सानो किचन क्याडी उपलब्ध गराइन्छ, जहाँ भान्साबाट निस्कने सबै प्रकारका जैविक फोहोर छुट्टै सङ्कलन गरिन्छ।
फलफूल तथा तरकारीका बोक्रा, मासु, माछा, दुग्धजन्य पदार्थ, अण्डाको बोक्रा, कफीको अवशेषदेखि बगैंचाका हरिया फोहोरसम्म छुट्टै व्यवस्थापन गरिन्छ। स्थानीय काउन्सिलले यस्ता जैविक फोहोर प्रत्येक हप्ता सङ्कलन गर्ने व्यवस्था गरेको छ भने अन्य सामान्य फोहोर कम अन्तरालमा मात्रै उठाइन्छ।
वैज्ञानिक कम्पोस्ट उत्पादन
सङ्कलित जैविक फोहोरलाई आधुनिक कम्पोस्टिङ केन्द्रमा पुर्याइन्छ। त्यहाँ प्लास्टिक लगायतका अशुद्ध वस्तु हटाएर जैविक सामग्रीलाई साना टुक्रामा परिणत गरिन्छ। त्यसपछि ‘विन्ड्रो’ (Windrow) प्रविधिबाट लामो थुप्रो बनाएर आवश्यक तापक्रम, आर्द्रता र हावाको व्यवस्थापन गरिन्छ।
५० देखि ७० डिग्री सेल्सियस तापक्रममा सक्रिय सूक्ष्मजीवहरूले केही सातामै गुणस्तरीय जैविक मल उत्पादन गर्छन्। परीक्षण र गुणस्तर प्रमाणीकरणपछि उक्त कम्पोस्ट कृषि, सार्वजनिक पार्क, बगैंचा तथा भूमि पुनर्स्थापना कार्यक्रममा प्रयोग गरिन्छ।
शिव न्यौपानेका अनुसार यस प्रणालीले ल्यान्डफिलमा जाने फोहोर उल्लेखनीय रूपमा घटाएको, मिथेन ग्यासको उत्सर्जन कम गरेको र माटोको उर्वराशक्ति वृद्धि गर्न सहयोग पुर्याएको छ। साथै स्थानीय अर्थतन्त्र र हरित रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान दिएको छ।
नेपालमा अझै चुनौती
नेपालमा विशेषगरी काठमाडौं उपत्यकामा जैविक फोहोर व्यवस्थापन अझै प्रभावकारी हुन नसकेको उनको भनाइ छ। दैनिक रूपमा ठूलो मात्रामा तरकारी, फलफूल तथा अन्य खाद्य फोहोर सडकछेउ, बजार क्षेत्र र खुला स्थानमा फालिने क्रम जारी छ। यसले दुर्गन्ध, प्रदूषण, रोगको जोखिम र फोहोर व्यवस्थापनको समस्या झन् जटिल बनाइरहेको छ।
उनका अनुसार काठमाडौं महानगरपालिकासहित स्थानीय तहहरूले घरघरबाट जैविक फोहोर छुट्टै सङ्कलन गर्ने प्रणाली लागू गर्न सके हरेक हप्ता हजारौं टन जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गर्न सकिनेछ।
यसबाट उत्पादन हुने कम्पोस्ट किसानका लागि गुणस्तरीय जैविक मल बन्नेछ, सहरी हरियाली विस्तार हुनेछ र रासायनिक मलमाथिको निर्भरता समेत घटाउन सकिने उनको विश्वास छ।
हरित अर्थतन्त्रतर्फ महत्वपूर्ण कदम
शिव न्यौपानेका अनुसार यस्तो प्रणालीले सरसफाइ सुधारमा मात्रै होइन, कम्पोस्ट उत्पादन, प्रशोधन, ढुवानी तथा बिक्री वितरणमा नयाँ रोजगारी र उद्यमशीलताको अवसरसमेत सिर्जना गर्नेछ। यसले कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण र हरित अर्थतन्त्र निर्माणमा दीर्घकालीन योगदान पुर्याउन सक्छ।
उनले नेपालले दिगो विकास, खाद्य सुरक्षा र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्ने हो भने अष्ट्रेलियाको FOGO प्रणालीबाट सिकेर स्थानीय आवश्यकता अनुसार जैविक फोहोर व्यवस्थापनको प्रभावकारी नीति लागू गर्नुपर्नेमा जोड दिएका छन्।
उनको निष्कर्षमा, फोहोरलाई समस्याको रूपमा होइन, मूल्यवान् स्रोतका रूपमा हेर्ने सोच नै स्वच्छ, हराभरा र दिगो नेपालको आधार बन्न सक्छ।




.gif)





