काठमाडौँ । नेपाली खाद्य साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने प्रयासस्वरूप प्रकाशित ‘फलाङ फुड डिक्सनरी’ ले नयाँ अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेको छ। अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट प्राप्त नैतिक समर्थन तथा प्रोत्साहनपूर्ण पत्रले पुस्तकका लेखक शिव न्यौपानेको सिर्जनात्मक यात्रामा महत्वपूर्ण उपलब्धि थपेको छ।
न्यौपानेका अनुसार पूर्व प्रधानमन्त्री मोरिसनबाट प्राप्त पत्र केवल औपचारिक शुभकामना नभई नेपाली पाक–संस्कृति, खाद्य साहित्य र बहुसांस्कृतिक आतिथ्य क्षेत्रप्रति गरिएको योगदानको सम्मानका रूपमा लिइएको छ। उक्त सन्देशले नेपाली खाद्य साहित्यलाई विश्वमञ्चमा स्थापित गर्ने प्रयासलाई थप प्रेरणा दिएको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्री मोरिसनले आफ्नो पत्रमा ‘फलाङ फुड डिक्सनरी’ तथा अष्ट्रेलियाको बहुसांस्कृतिक खाद्य परम्परासँग सम्बन्धित अनुसन्धान र दस्तावेजीकरणको प्रशंसा गर्दै लेखकको सिर्जनात्मक प्रयासप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए। यसलाई नेपाली पाक–साहित्यप्रति अन्तर्राष्ट्रिय तहबाट प्राप्त महत्वपूर्ण नैतिक समर्थनका रूपमा हेरिएको छ।
उक्त पत्र प्राप्त गरेपछि लेखक शिव न्यौपानेले सम्मान र कृतज्ञताको भावसहित आफ्नो कृति ‘फलाङ फुड डिक्सनरी’ पूर्व प्रधानमन्त्री मोरिसनलाई उपहारस्वरूप पठाएका थिए। पुस्तक आदान–प्रदानलाई नेपाली खाद्य संस्कृति र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने एउटा अर्थपूर्ण पहलका रूपमा व्याख्या गरिएको छ।
लेखक न्यौपानेका अनुसार खाद्य साहित्य केवल परिकार, स्वाद वा रेसिपीको संग्रह मात्र होइन, यसले कुनै पनि देशको संस्कृति, इतिहास, पहिचान र जीवनशैलीलाई विश्वसमक्ष चिनाउने प्रभावकारी माध्यमको भूमिका खेल्छ। यही उद्देश्यका साथ ‘फलाङ फुड डिक्सनरी’ तयार गरिएको उनले बताएका छन्।
पुस्तकमा पूर्व प्रधानमन्त्री मोरिसनको व्यक्तिगत रेसिपी तथा तस्बिर समावेश गर्ने विषयमा दुवै पक्षबीच फरक दृष्टिकोण रहे पनि त्यसलाई आपसी सम्मान र व्यावसायिक संवादमार्फत समाधान गरिएको लेखकले उल्लेख गरेका छन्। उनले यसलाई लोकतान्त्रिक संस्कार, विचारको सम्मान र सभ्य संवादको उदाहरणका रूपमा व्याख्या गरेका छन्।
न्यौपानेले पूर्व प्रधानमन्त्रीबाट प्राप्त नैतिक समर्थन र पुस्तक उपहार आदान–प्रदानलाई आफ्नो लेखकीय जीवनको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनका अनुसार यस घटनाले नेपाली खाद्य साहित्यको अन्तर्राष्ट्रिय सम्भावनालाई अझ फराकिलो बनाएको छ।
उनले भविष्यमा नेपाली परिकार, खाद्य संस्कृति, परम्परा तथा विश्वका विभिन्न देशका पाक–संस्कृतिबीच ज्ञान आदान–प्रदानलाई थप विस्तार गर्ने लक्ष्य रहेको पनि बताएका छन्। साथै, यो उपलब्धिले नयाँ पुस्ताका खाद्य लेखक, अनुसन्धानकर्ता तथा सांस्कृतिक अभियन्तालाई अन्तर्राष्ट्रिय स्तरमा काम गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।




.gif)





