images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • विश्वमञ्चमा नेपाली पाककला चम्काउँदै शेफ दुर्गा...
अर्थसमाचार संवाददाता

विश्वमञ्चमा नेपाली पाककला चम्काउँदै शेफ दुर्गा खड्का, सम्मान र प्रवर्द्धनको माग

विश्वमञ्चमा नेपाली पाककला चम्काउँदै शेफ दुर्गा खड्का, सम्मान र प्रवर्द्धनको माग

images
images
शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • काठमाडौँ । नेपालको पहिलो विश्व खाद्य शब्दकोश फलाङ फुड डिक्सनरी का सर्जक तथा लेखक शिव न्यौपानेले अन्तर्राष्ट्रिय आतिथ्य तथा पाककला क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका नेपाली शेफ तथा पाक–व्यवसायीहरूको योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा पहिचान, प्रवर्द्धन र सम्मान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    images
    images

    फलाङ फुड डिक्सनरीले नेपाली पाककला दक्षतालाई राष्ट्रको सबैभन्दा मूल्यवान् तर अपेक्षाकृत कम मूल्याङ्कन गरिएको सम्पत्तिमध्ये एकका रूपमा चित्रण गर्दै यस क्षेत्रलाई संस्थागत संरक्षण, सरकारी प्रोत्साहन र राष्ट्रिय मान्यता प्रदान गर्न आग्रह गरेको छ। नेपाली शेफहरूले विश्वका प्रतिष्ठित होटल, रेस्टुरेन्ट तथा आतिथ्य उद्योगमा पुर्‍याएको योगदानलाई राष्ट्रिय गौरवसँग जोडेर हेर्नुपर्नेमा पनि जोड दिइएको छ।

    यसै सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली पाककलाको पहिचान स्थापित गर्न सफल शेफ दुर्गा खड्कालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। सन् १९८६ सेप्टेम्बर १ मा जन्मिएका शेफ खड्काले सानैदेखि पाककलाप्रति रुचि विकास गर्दै आफ्नो व्यावसायिक यात्रा भारतको नवी मुम्बईस्थित द गोल्डेन वोकबाट सुस शेफका रूपमा प्रारम्भ गरेका थिए। उत्कृष्ट कार्यक्षमताका कारण उनले छोटो समयमै प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै एक्जिक्युटिभ सुस शेफ र एक्जिक्युटिभ शेफको जिम्मेवारी सम्हाले।

    images
    images

    उनको करियरको महत्वपूर्ण उपलब्धिमध्ये मुम्बईस्थित मोनार्क ग्रुपमा कर्पोरेट शेफको भूमिका विशेष मानिन्छ। त्यहाँ उनले बहुराष्ट्रिय खाद्य परियोजना, नयाँ परिकार विकास, भान्सा व्यवस्थापन तथा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान दिएका थिए। भुटान, कतार, नाइजेरिया, इजिप्ट र आयरल्याण्डसम्म फैलिएको उनको अन्तर्राष्ट्रिय अनुभवले नेपाली शेफको क्षमता विश्वस्तरमा प्रतिस्पर्धी रहेको पुष्टि गरेको छ।

    भुटानको प्रतिष्ठित ताशी–यिड वोङ ग्राण्ड होटलमा एक्जिक्युटिभ शेफका रूपमा कार्यरत रहँदा उनले हिमाली संस्कृति र अन्तर्राष्ट्रिय पाककलालाई समेट्दै विशिष्ट स्वाद र पहिचान निर्माण गरेका थिए। उनको नेतृत्वमा होटलले पाक सेवामा नयाँ उचाइ हासिल गरेको बताइन्छ।

    हाल आयरल्याण्डमा कार्यरत शेफ खड्काले विश्व आतिथ्य क्षेत्रमा निरन्तर योगदान दिइरहेका छन्। सिर्जनशीलता, नेतृत्व क्षमता र व्यावसायिक दक्षताका लागि परिचित उनी भोजनलाई केवल खानाका रूपमा नभई संस्कृति, पहिचान र मानवीय सम्बन्ध जोड्ने माध्यमका रूपमा व्याख्या गर्छन्।

    इन्टरनेशनल नेपालीज चेफ्स सोसाइटीले समेत शेफ खड्काको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई विश्वमञ्चमा नेपाली प्रतिभा र व्यावसायिकताको प्रतिनिधिका रूपमा सम्मान गरेको छ। उनको सफल यात्राले विश्वभर रहेका नेपाली शेफहरूको क्षमता र सम्भावनालाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिएको छ।

    फलाङ फुड डिक्सनरीका अनुसार विदेशमा सफल भएका नेपाली शेफहरू व्यक्तिगत सफलताका प्रतीक मात्र नभई नेपालको संस्कृति, परम्परा, स्वाद र आतिथ्यतालाई विश्वसमुदायसम्म पुर्‍याउने सांस्कृतिक दूत पनि हुन्। त्यसैले उनीहरूको योगदानलाई राज्यले नीतिगत रूपमा सम्मान गर्दै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।

    शब्दकोशले सरकारसँग अन्तर्राष्ट्रिय सफलता हासिल गरेका नेपाली पाक–व्यवसायीहरूको अभिलेखीकरण, राष्ट्रिय सम्मान, विशेष प्रोत्साहन कार्यक्रम तथा पाक–पर्यटन प्रवर्द्धनका योजनामार्फत उनीहरूको अनुभवलाई देशको हितमा उपयोग गर्न आग्रह गरेको छ। यस्ता व्यक्तित्वको सम्मानले नेपालको खाद्य संस्कृति र आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    शिव न्यौपानेले नेपाली पाककलाको विश्वव्यापी विस्तार केवल व्यक्तिगत उपलब्धि नभई नेपालको सांस्कृतिक पहिचान र आर्थिक सम्भावनासँग जोडिएको विषय भएको उल्लेख गर्दै शेफ दुर्गा खड्काजस्ता व्यक्तित्वको सफलतालाई राष्ट्रले गर्वका साथ सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend