images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • क्यानडामा नेपाली स्वादको पहिचान बनाउँदै ‘आमा...
अर्थसमाचार संवाददाता

क्यानडामा नेपाली स्वादको पहिचान बनाउँदै ‘आमा नेपालीज क्युजिन’

क्यानडामा नेपाली स्वादको पहिचान बनाउँदै ‘आमा नेपालीज क्युजिन’

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं / क्यानडा, असार ८ । नेपालको पहिलो विश्व खाद्य शब्दकोश फलाङ खाद्य शब्दकोशका सर्जक तथा लेखक शिव न्यौपानेले क्यानडामा सञ्चालित आमा नेपाली खाना लाई विदेशमा नेपाली खानाको उत्कृष्ट प्रतिनिधित्व गर्ने संस्थाका रूपमा प्रशंसा गरेका छन्। उनका अनुसार यो रेस्टुरेन्ट केवल व्यवसायिक केन्द्र नभई नेपाली स्वाद, संस्कृति र आतिथ्यताको अन्तर्राष्ट्रिय दूतका रूपमा स्थापित भएको छ।

    images
    images

    सन् २०२२ मा शेफ ज्ञानेन्द्र शर्मा र तारा पौडेलद्वारा स्थापना गरिएको आमा नेपालीज क्युजिनले क्यानडाको कोक्रेन क्षेत्रमा नेपाली मौलिक परिकारलाई सफलतापूर्वक प्रवर्द्धन गर्दै आएको छ। नेपालको हिमाली परिवेशको झल्को दिने कोक्रेन क्षेत्रले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने प्रेरणा दिएको संस्थापकहरूको भनाइ छ।

    शिव न्यौपानेका अनुसार “आमा” शब्द नेपाली समाजमा प्रेम, ममता, त्याग र आत्मीयताको प्रतीक हो। यही भावनालाई केन्द्रमा राखेर सञ्चालन गरिएको रेस्टुरेन्टले नेपाली खानालाई केवल परिकारका रूपमा होइन, संस्कृति र पहिचानको माध्यमका रूपमा प्रस्तुत गरिरहेको छ।

    images
    images

    रेस्टुरेन्टले खाना, संस्कृति, समुदाय, सेवा र कृतज्ञतालाई आफ्नो मूल आधार बनाएको छ। हिमाली परिकारदेखि लोकप्रिय मःमसम्मका विभिन्न नेपाली व्यञ्जनले नेपालको विविध पाक परम्परालाई झल्काउँछन्। विशेषगरी अल्बर्टामा उत्पादन हुने याकको मासु प्रयोग गरी तयार गरिएका परिकारले नेपाली हिमाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुर्‍याएका छन्।

    आमा नेपालीज क्युजिनले विभिन्न सांस्कृतिक कार्यक्रम, सामुदायिक जमघट तथा नेपाली आतिथ्यतामार्फत नेपाल र क्यानडाबीच सांस्कृतिक सेतु निर्माण गरिरहेको छ। यहाँ आउने पाहुनालाई परिवारको सदस्यसरह आत्मीय अनुभव प्रदान गरिने भएकाले रेस्टुरेन्ट स्थानीय तथा अन्तर्राष्ट्रिय ग्राहकबीच लोकप्रिय बन्दै गएको छ।

    विदेशमा नेपाली उद्यमीहरूले नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै न्यौपानेले यस्ता प्रयासले नेपालको हजारौँ वर्ष पुरानो पाक परम्परा, संस्कृति र मौलिक पहिचानलाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

    उनले भने, “विदेशमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्ने नेपालीहरू केवल व्यवसायी होइनन्, उनीहरू नेपालको सांस्कृतिक दूत हुन्। नेपाली खानामार्फत उनीहरूले नेपालको इतिहास, संस्कृति, परम्परा र आतिथ्यतालाई विश्व समुदायसम्म पुर्‍याइरहेका छन्।”

    न्यौपानेका अनुसार आमा नेपाली खाना नेपाली स्वाद, संस्कृति र आत्मीयताको उज्ज्वल उदाहरण बनेको छ। यो केवल एउटा रेस्टुरेन्टको सफलता होइन, विश्वमञ्चमा नेपाली पहिचानलाई स्थापित गर्ने प्रेरणादायी अभियान पनि हो।

    विदेशमा नेपाली भोजन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने सम्पूर्ण नेपाली डायस्पोराप्रति कृतज्ञता व्यक्त गर्दै उनले नेपाली स्वादको विश्वव्यापी विस्तारले नेपालको सांस्कृतिक सम्पदा संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचान सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend