काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका एक हजार १८६ सहकारी संस्था सम्पर्कबाहिर रहेको पाइएको छ। महानगर सहकारी विभागका अनुसार ७२६ सहकारी संस्थाले मात्र नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउँदै सम्पर्कमा रहेका छन्।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार सम्पर्कविहीन सहकारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। सहकारीको अनुगमन, सुशासन र समस्या समाधानका लागि वडा महिला सञ्जाललाई समेत जिम्मेवारी दिइएको महानगरले जनाएको छ।
बचतकर्ताको रकम फिर्ता, ऋण असुली तथा सहकारीसम्बन्धी विवाद समाधानका लागि वडास्तरमै मेलमिलाप र छलफल प्रक्रिया सञ्चालन गरिनेछ। सहकारी वा ऋणी सम्पर्कमा नआए सार्वजनिक सेवा सुविधामा प्रतिबन्ध लगाउने विषयमा समेत सुझाव दिइने महानगरको भनाइ छ।
महानगरले सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासन कायम गर्न नियमनलाई थप कडाइ गर्ने जनाएको छ।रासस




.gif)





