काठमाडौँ, २९ वैशाख । रिलायबल क्यापिटल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आजदेखि सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो।
निष्काशन गरिने कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। सुरक्षित गरिएकोमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
फण्डमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १२ गतेसम्म लम्ब्याइने क्यापिटलले जनाएको छ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपाल लिमिटेड ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको जनाएको छ।




.gif)





