काठमाडौँ, २० वैशाख । नेपालको निर्जीवन बिमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय प्रगति हासिल गरेको देखिएको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १४ निर्जीवन बिमा कम्पनी तथा लघु बिमकमार्फत कुल ३७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ।
प्राधिकरणका अनुसार चैत मसान्तसम्म २५ लाख ४४ हजार ४ सय ९० वटा बिमालेख जारी भएका छन्। चैत महिनामा मात्रै ४ अर्ब ७३ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ।
प्रतिस्पर्धा तीव्र, शिखर अग्रस्थानमा निर्जीवन बिमा बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यस प्रतिस्पर्धामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दै पहिलो स्थान कायम राखेको छ।
त्यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँसहित दोस्रो स्थान हासिल गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ।
अन्य कम्पनीहरू जस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स तथा दि ओरिएन्टल इन्स्योरेन्सले पनि अर्बौंको व्यवसाय गर्दै बजार विस्तारमा योगदान दिएका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले १ अर्ब १४ करोड ९७ लाख रुपैयाँ संकलन गर्दै अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ भने सबैभन्दा कम व्यवसाय गर्ने कम्पनीका रूपमा नेसनल इन्स्योरेन्स रहेको छ, जसले ९८ करोड १२ लाख रुपैयाँ मात्रै संकलन गरेको छ।
बागमती प्रदेशको वर्चस्व भौगोलिक रूपमा हेर्दा बिमा व्यवसायमा बागमती प्रदेशको स्पष्ट वर्चस्व देखिएको छ। कुल बिमाशुल्क मध्ये करिब ६८ प्रतिशत (२५ अर्ब ५९ करोड २७ लाख रुपैयाँ) यही प्रदेशबाट संकलन भएको छ। यस क्षेत्रमा ११ लाख १६ हजारभन्दा बढी बिमालेख जारी भएका छन्। संघीय राजधानी काठमाडौँ केन्द्रित आर्थिक गतिविधि यसको मुख्य कारण मानिएको छ।
अन्य प्रदेशहरूको योगदान भने तुलनात्मक रूपमा कम छ– कोशी प्रदेशः ३ अर्ब १४ करोड ८४ लाख रुपैयाँ,लुम्बिनी प्रदेशः ३ अर्ब ११ करोड ३३ लाख रुपैयाँ,मधेस प्रदेशः २ अर्ब ३४ करोड २४ लाख रुपैयाँ,गण्डकी प्रदेशः १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ,सुदूरपश्चिम प्रदेशः ८८ करोड ६८ लाख रुपैयाँ,कर्णाली प्रदेशः ३४ करोड ८८ लाख रुपैयाँ,विशेषगरी कर्णाली प्रदेशमा बिमाको पहुँच अत्यन्त न्यून देखिएको छ।
मोटर बिमा अग्रस्थानमा विधागत रूपमा मोटर बिमा सबैभन्दा अगाडि रहेको छ। यसबाट मात्रै ११ अर्ब ५० करोड ७१ लाख रुपैयाँ संकलन भएको छ। सवारी साधनको संख्या वृद्धि, अनिवार्य तेस्रो पक्ष बिमा र सडक दुर्घटनाको उच्च जोखिम यसको प्रमुख कारण हुन्।
सम्पत्ति बिमा दोस्रो स्थानमा रहेको छ, जसबाट ८ अर्ब ६५ करोड ७ लाख रुपैयाँ संकलन भएको छ। सहरीकरण र निर्माण गतिविधि वृद्धि यसका मुख्य कारण हुन्।
अन्य विधाहरूमा–इन्जिनियरिङ तथा ठेक्का जोखिमः ६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ,विविध बिमाः ३ अर्ब ९२ करोड १७ लाख रुपैयाँ,सामुद्रिक बिमाः २ अर्ब २७ करोड ९४ लाख रुपैयाँ,हवाई बिमाः १ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ,कृषि तथा बाली बिमाः १ अर्ब २४ करोड ८० लाख रुपैयाँ,लघु बिमा विस्तार हुँदै । लघु बिमा क्षेत्रले पनि क्रमशः गति लिँदै गएको छ। चैत मसान्तसम्म ९९ करोड ८२ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सजस्ता संस्थाहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन्।
यद्यपि, लघु बिमाको पहुँच अझै सीमित छ र क्षेत्रीय असन्तुलन कायम छ। बागमती प्रदेशमा उच्च हिस्सा हुँदा कर्णालीजस्ता प्रदेशमा अत्यन्त न्यून संकलन भएको छ।
चैत महिनामा मात्रै ३ लाख ७६ हजारभन्दा बढी नयाँ बिमालेख जारी भएका छन्, जसले बिमा क्षेत्रमा विस्तार र जनचेतना वृद्धि भइरहेको संकेत गर्दछ।




.gif)





