काठमाडौँ । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। हालसम्म परराष्ट्र मन्त्रालयका अधिकारी र राजनीतिक दलहरूको सिफारिसका आधारमा राजदूत नियुक्त हुँदै आएकोमा सरकारले यो परम्परा तोड्ने संकेत दिएको हो।
परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयका अनुसार निश्चित संख्यामा विज्ञापन खुलाइने र प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य उम्मेदवार छनोट गरी राजदूत नियुक्त गरिनेछ। मन्त्रालयमा सोमबार आयोजित सहसचिवहरूको बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषयमा छलफल भएको बताएका थिए। यद्यपि विज्ञापन कहिले खुल्ने भन्नेबारे मिति भने तय भइसकेको छैन।
हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास छन्। तीमध्ये भारत, चीन, अमेरिका, बेलायतलगायत १७ राजदूत पद हाल रिक्त छन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त राजदूतहरूलाई पछिल्ला सरकारहरूले फिर्ता बोलाउने निर्णय गरेका थिए।
आगामी जुलाई अन्त्यसम्म थप ६ देश—ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्ट—का राजदूतहरूको कार्यकाल सकिँदैछ। त्यसपछि सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउनेछ।




.gif)





