काठमाडौँ । थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू खाली गराउन सुरक्षाकर्मीले माइकिङ सुरु गरेका छन्। आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगरीय प्रहरीको संयुक्त टोलीले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बस्ती खाली गर्न अनुरोध गरेको हो।
सूचना अनुसार वैशाख १२ गते बिहान ६ः०० बजेदेखि अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिनेछ। सो क्रममा घरटहरा भत्काउने तथा सरकारी जग्गा पूर्ण रूपमा खाली गरिने उल्लेख गरिएको छ। यदि उक्त कार्यमा अवरोध सिर्जना गरिएमा कानुनअनुसार कारबाही गरिने समेत जानाकारी दिइएको छ।
माइकिङ मार्फत सुरक्षाकर्मीले बस्तीमा बसोबास गरिरहेका सर्वसाधारणलाई समयमै अन्यत्र सर्न आग्रह गरेका छन्। साथै, अपाङ्गता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन अनुरोध गरिएको छ।
सरकारले वास्तविक भूमिहीनहरूको लगत संकलन गरी आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइने पनि जनाएको छ। यदि स्थानान्तरणका क्रममा कुनै सहयोग आवश्यक परे सुरक्षाकर्मीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
यस अभियानसँगै थापाथली क्षेत्रको सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सरकारी सक्रियता थप तीव्र भएको देखिएको छ।




.gif)





