images

२०८३ आश्विन १७ गते

images
images
images

नौ बुँदे घोषणा पत्र जारी गर्दै लघुवित्त सम्मेलन सम्पन्न

नौ बुँदे घोषणा पत्र जारी गर्दै लघुवित्त सम्मेलन सम्पन्न

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ ले नौ बुँदे घोषणापत्र जारी गर्दै लघुवित्त क्षेत्रको सुधार, विस्तार र प्रभावकारिता अभिवृद्धिमा केन्द्रित प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    दुई दिनसम्म चलेको सम्मेलनले उद्यमशीलता प्रवर्द्धन, युवा स्वरोजगार, हरित वित्त, डिजिटल सेवा विस्तार तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ। घोषणापत्रको पहिलो बुँदामा युवालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ। यसका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम, सीपमूलक तालिम र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।

    दोस्रो बुँदामा सेवाग्राहीसँगको व्यवहारलाई पारदर्शी, मर्यादित र सदस्य–केन्द्रित बनाउने प्रतिवद्धता जनाइएको छ। तेस्रो र चौथो बुँदामा हरित वित्त तथा वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै प्रत्येक संस्थाले कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माणमा योगदान गर्ने लक्ष्य राखिएको छ।

    images
    images

    पाँचौं बुँदामा डिजिटल प्रविधिमार्फत सेवा सहज, छरितो र पहुँचयोग्य बनाउने तथा सदस्यहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उल्लेख छ। साथै, प्रभाव मूल्यांकन, निष्क्रिय सदस्य सक्रियता, वित्तीय साक्षरता विस्तार र भ्रमपूर्ण गतिविधि नियन्त्रणमा विशेष जोड दिइएको छ।

    विपन्न महिलाहरूको पहुँचमा अवरोध सिर्जना गर्ने गतिविधि रोक्न समुदायस्तरमै सचेतना फैलाउने विषय पनि घोषणापत्रमा समेटिएको छ। अन्तिम बुँदामा लघुवित्त क्षेत्रका चुनौती समाधानका लागि संस्था, सदस्य र नियामक निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याइएको छ।

    सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले घोषणापत्र कार्यान्वयनमा विशेष जोड दिएका थिए। नेपाल राष्ट्र बैंक का पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री ले लघुवित्तले विपन्न वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको सकारात्मक प्रभावलाई निरन्तरता दिनुपर्ने बताए। उनले व्यावसायिक बैंकहरू नाफामुखी भएकाले ग्रामीण तथा विपन्न वर्गसम्म पुग्न नसक्ने हुँदा लघुवित्तको आवश्यकता अझै महत्वपूर्ण रहेको धारणा राखे।

    त्यसैगरी, पूर्व गभर्नर विजयनाथ भट्टराई ले लघुवित्त क्षेत्रमा बढ्दो निष्क्रिय कर्जालाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै संस्थाहरूले आन्तरिक सुधार, सुशासन र प्रविधिको प्रयोगमार्फत सुदृढ बन्नुपर्नेमा जोड दिए। उनले लघुवित्तलाई ऋण प्रवाहमा मात्र सीमित नराखी उद्यमशीलता विकासमा केन्द्रित गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

    आयोजक समिति अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तलाई ‘मुटुदेखि मुटुसम्म जोडिने प्रणाली’ का रूपमा व्याख्या गर्दै सही अभ्यास अपनाए जोखिम न्यून हुने बताए। उनले ‘थ्री जीरो’ अवधारणाअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनका लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे।

    सदस्य सचिव बेचन गिरिले सम्मेलनले लघुवित्तलाई केवल वित्तीय सेवाभन्दा माथि उठाएर सामाजिक सशक्तिकरणको अभियानका रूपमा स्थापित गरेको बताए। सम्मेलनका अवसरमा उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मानसमेत गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend