काठमाडौँ । पूर्व–पश्चिम क्षेत्रमा महत्वपूर्ण मानिएको काँकडभिट्टा–लौकही सडक विस्तार आयोजना सुरु भएको २५ महिना बितिसक्दा पनि समग्र प्रगति ४० प्रतिशत पुग्न सकेको छैन। हालसम्म आयोजनाको समग्र प्रगति ३२ प्रतिशत मात्र भएको सम्बन्धित योजना कार्यालयले जनाएको छ।
यो आयोजना सडकतर्फ तीन र पुलतर्फ दुई गरी पाँच प्याकेजमा विभाजन गरेर ठेक्का दिइएको हो। तर सडक र पुल दुवैतर्फ अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन। निर्माण सुरु भएको लामो समयपछि मात्रै अहिले बिजुलीका पोल सार्ने र खानेपानीका पाइप हटाउने काम भइरहेको छ।
काँकडभिट्टा–लबिपुर सडक खण्डको कुल लम्बाइ ९५.७६ किलोमिटर छ। यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको हो। सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भए पनि निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको थियो। समयावधि कार्यादेश दिएको मितिबाट गणना हुने योजना कार्यालयले जनाएको छ।
पहिलो प्याकेज काँकडभिट्टा–सीतापुरी (४५ किमि) झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक पहिलो प्याकेजमा पर्छ। यसको ठेक्का अजरबैजानको इभ्रास्कन कम्पनी र कालिका कन्स्ट्रक्सनको संयुक्त उपक्रम (इभ्रास्कन–कालिका जेभी) ले लिएको हो। यस खण्डको ठेक्का रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ।
काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्ड, दमकका प्रमुख सुनीलबाबु पन्तका अनुसार सडकतर्फ हालसम्म ३७ प्रतिशत प्रगति भएको छ। उनका अनुसार पहिलो तहको कालोपत्र गर्ने काम सुरु भएको छ। अहिलेसम्म सडकको बायाँतर्फ ३ हजार २५५ मिटर र दायाँतर्फ १ हजार ३६० मिटर गरी कुल ४ हजार ५९५ मिटर सडक कालोपत्र गरिएको छ।
यस खण्डमा बेस, सब–बेस, कल्भर्ट, पुल तथा कालोपत्रका काम जारी रहेका छन्।
पुल निर्माणमा सुस्त प्रगति निन्दा, बिरिङ र कन्काई नदीमा बन्ने पुल चौथो प्याकेजमा पर्छ। यसको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन्। पुल निर्माणका लागि ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको सम्झौता गरिएको छ।
हालसम्म पुलतर्फ समग्र प्रगति २५ प्रतिशत मात्र छ। यी पुलहरू करिब ३०० मिटर लम्बाइका ठूला पुल हुन्। पुल निर्माणमा प्रयोग हुने ट्रस्ट सामग्री चीनबाट आउँदै रहेकाले सामग्री आएपछि कामको गति बढ्ने योजना कार्यालयले जनाएको छ।
दोस्रो प्याकेज सीतापुरी–गोठगाउँ (४० किमि) सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर सडक विस्तार दोस्रो प्याकेजमा पर्छ। यसको ठेक्का चिनियाँ कम्पनी सीआरएफजी र तुँदी कन्स्ट्रक्सनले संयुक्त रूपमा लिएका हुन्।
काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्ड, इटहरीका योजना प्रमुख जगत प्रजापतिका अनुसार यस खण्डमा हालसम्म ३८ प्रतिशत प्रगति भएको छ। ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँको ठेक्कामा रहेको यस खण्डमा १५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ।
यही खण्डमा पर्ने साना पुलको सुपर स्ट्रक्चर निर्माण पनि सकिएको छ। चालु आर्थिक वर्षको असारसम्म प्रगति ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।
तेस्रो प्याकेज गोठगाउँ–लबिपुर (१०.७६ किमि) गोठगाउँदेखि सुनसरीको लबिपुरसम्म १०.७६ किलोमिटर सडक तेस्रो प्याकेजमा पर्छ। ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका छन्।
तर यस खण्डको प्रगति सबैभन्दा कम, १८ प्रतिशत मात्र छ। सहरी क्षेत्र धेरै परेकाले विद्युत्का पोल सार्न नसक्दा काम प्रभावित भएको योजना कार्यालयले जनाएको छ। यस सडक खण्डमा रहेका ६५० पोलमध्ये हालसम्म २०० पोल मात्र सारिएका छन्।
खानेपानीका पाइप फुट्ने जोखिमका कारण ती पनि सार्नुपर्ने भएकाले काम ढिलाइ भएको जनाइएको छ। विद्युत् पोल सार्ने काम नेपाल विद्युत् प्राधिकरणअन्तर्गत छुट्टै ठेक्का मार्फत भइरहेको छ।
योजना कार्यालयका अनुसार निर्माण सामग्री अभाव, पर्याप्त जनशक्ति परिचालन नहुनु र संरचना सार्ने काम ढिला हुनुले आयोजना प्रभावित बनेको हो। पछिल्ला दिनमा निर्माण सामग्रीको आपूर्ति केही सहज हुँदै गएको र अब कामको गति बढ्ने अपेक्षा गरिएको छ।




.gif)





