काठमाडौँ, फागुन १७ गते । पछिल्लो समय चाँदीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्तामा आकर्षण बढ्न थालेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ३३ करोड ८८ लाख २८ हजार रुपियाँ बराबरको एक हजार ५४० केजी चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा चार लाख ३१ हजार रुपियाँ बराबरको १५ केजी चाँदी आयात भएको थियो । लगानीकर्ताको अत्यधिक मागको कारणले यस वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्याङ्कले देखाएको छ । यस वर्ष चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेपछि आयातमा ह्वात्तै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक वर्षमा चाँदीको मूल्य तोलामा पाँच हजार रुपियाँले बढेको छ । गत वर्ष एक हजार ९१५ रुपियाँ रहेको प्रतितोला चाँदीको मूल्य बढेर गत माघमा बढेर सात हजार तीन सय रुपियाँसम्म पुगेको थियो । अहिले घटेर पाँच हजार ७४० रुपियाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले लगानीका रूपमा चाँदीमा लगानी बढ्दै गएको जानकारी दिनुुभयो । निरन्तर चाँदीको मूल्य बढ्न थालेपछि व्यवसायी आकर्षित गरेर लगानी गर्न थालेको उहाँको भनाइ छ । बैङ्कको ब्याजदर घट्दै गएको र सेयर बजारसमेत घट्दै गएपछि मुनाफा आर्जनका लागि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेका छन् । चाँदीको माग बढ्दै गएपछि माग अनुसार आपूर्ति नहुँदा मूल्य बढ्दै गएको हो । चाँदी विशेष गरी औद्योगिक क्षेत्रमा पनि बढी प्रयोग हुने गर्छ । सोलार प्लान्ट, विद्युतीय सवारीसाधन निर्माण र एआईमा चाँदीको प्रयोग हुने गर्छ । चाँदीबाट भाडावर्तन र मूर्तिसमेत बनाइने गरिन्छ ।
नेपाल राष्ट्र बैङ्कले गत भदौमा औद्योगिक प्रयोजनका लागि ल्याउन पाउने चाँदीको सीमा बढाएको थियो ।कच्चा पदार्थका रूपमा औद्योगिक प्रयोजनका लागि चाँदी ल्याउन एक पटकमा पाँच लाख अमेरिकी डलर बराबरको सटही सुविधा व्यवसायीले पाउने व्यवस्था गरेको छ । यसअघि औद्योगिक प्रयोजनका लागि सुविधा तीन लाख डलर थियो । नेपालमा चाँदी भारत, इटाली, रुवान्डा, अस्ट्रेलिया, युनाइटेड अरबलगायतका देशबाट आयात हुने गर्छ ।




.gif)





