काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप मद्दत परिचालन गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको हो ।करिब १३ हजार प्रहरीलाई थप मद्दतको रूपमा परिचालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयले पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई परिचालन गरिसकेको छ । थप १ सय जना डीएसपी र चार सय इन्स्पेक्टर परिचालन गर्नेगरी प्रहरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ ।पहिलो चरणमा खटिएका अधिकृतहरू सोमबार फिल्डमा पुगेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । उनले भने, ‘पहिलो चरणमा खटिएका अधिकृतहरू फिल्डमा पुगिसकेका छन् ।’
थप मद्दतको रूपमा खटिने प्रहरी अधिकृतहरू उपत्यका प्रहरी कार्यालय मातहतका गण, गुल्महरू र प्रहरी प्रधान कार्यालयबाट पठाइने छन् । अतिसंवेदनशील मतदान स्थल धेरै भएका मधेसका जिल्ला र लुम्बिनी प्रदेशका जिल्लामा धेरै प्रहरी खटिने छन् ।झापादेखि कैलालीसम्म तराईका जिल्लाहरूलाई प्रहरीले निर्वाचन सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानेको छ ।मधेस प्रदेशमा सबैभन्दा धेरै अति संवेदनशील मतदानस्थल छन् । मधेस प्रदेशका ८ जिल्लाका १२ सय ४६ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । लुम्बिनीमा ४६२ र सुदूरपश्चिममा ४८१ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
कोशी प्रदेशमा ४३९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा छन् । बागमती प्रदेशका १० जिल्लामा ३५४ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । गण्डकी प्रदेशमा ३२८ वटा र कर्णाली प्रदेशका ३५८ मतदान स्थल मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन हुनेछन् । प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गर्नेछ । निर्वाचन सुरक्षामा उपलब्ध फौजलाई परिचालन गरिने डीआईजी काफ्लेले बताए ।उनले भने, ‘हामीसँग भएको फौजलाई अधिकतम रूपमा निर्वाचन सुरक्षामै परिचालन गर्नेछौँ ।’
एउटा पालिकामा दुई जना इन्स्पेक्टर
फागुन २१ मा प्रतिनिधि सभातर्फ २ सय ७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू चुनिनेछन् । निर्वाचन सुरक्षालाई चुस्त र भयरहित बनाउन प्रहरी प्रधान कार्यालयले एउटा पालिकामा दुई जना इन्स्पेक्टर परिचालन गर्ने भएको छ ।एउटा स्थानीय तहमा दुई जना इन्स्पेक्टरलाई खटाइने प्रहरी प्रवक्तासमेत रहेका डीआईजी काफ्लेले बताए । उनले भने, ‘उनीहरूलाई सपोर्ट गर्न डीएसपीको कमाण्डमा एउटा रिजर्ब टिम हुन्छ ।’रिजर्ब टिमले दुई–तीन वटा गाउँपालिका र जिल्ला तहमा आवश्यकता अनुसार सपोर्ट गर्नेगरी प्रहरीको केन्द्रीय निर्वाचन सेलले सुरक्षा रणनीति तयार गरेको छ । निर्वाचन सेलको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी हुन् । निर्वाचन सेलमा डीआईजी अरुण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दयानिधी ज्ञवाली र सुवास चन्द्र बोहरा सदस्य छन् ।
उपमहानगरपालिकामा ३ जना र प्रत्येक महानगरपालिकामा ४ जना इन्स्पेक्टरलाई निर्वाचन सुरक्षामा परिचालन गर्नेगरी योजना तयार गरिएको छ । केन्द्रबाट जाने प्रहरीलाई फागुन १० सम्ममा निर्वाचन क्षेत्रमा पठाइसक्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । डीआईजी काफ्लेले भने, ‘यसै साताभित्र सबै क्षेत्रमा प्रहरी कर्मचारीहरू पुगिसक्छन् ।’कर्णाली प्रदेशबाट तल्लो दर्जाका प्रहरीलाई अन्यत्र खटाइने भएको छ । संख्या धेरै भएको हुनाले कर्णालीबाट तल्लो दर्जाका प्रहरीलाई अरु प्रदेशमा परिचालन गरिने तर, त्यहाँ सिनियर अधिकृतलाई थप मद्दतमा पठाइने भएको छ ।डीएसपी कमाण्ड हुने जिल्लामा एसपी परिचालन गर्ने तयारी छ । कर्णालीको कालिकोट, बझाङ, बजुरा र दार्चुलामा निर्वाचन सुरक्षाको कमाण्ड एसपीले गर्नेछन् ।अति संवेदनशील स्थलमा ३ जना प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन हुनेछन् । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘मतदान स्थलमा थप मतदान केन्द्र भएमा २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप गरिन्छ ।’सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिने छन् । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार चुनावमा ७९ हजार सेना खटिँदै छन् । सेना तेस्रो घेरामा परिचालित हुनेछ । निर्वाचनमा सूचना सङ्कलनको जिम्मेवारीसहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने राष्ट्रिय अनुसन्धान विभागका एक जना उच्च अधिकृतले बताए ।न्द्रीय सुुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।




.gif)





