धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकढिक्का भएर आगामी निर्वाचनमा केन्द्रित भएको बताएका छन्। शुक्रबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशन पछि पार्टीभित्र केही समस्या देखिए पनि अहिले सबै नेता–कार्यकर्ता एउटै लक्ष्यका साथ अघि बढिरहेको स्पष्ट पारे।
उनले आफू निवर्तमान सभापति शेरबहादुर देउवा लगायत वरिष्ठ नेताहरूसँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै निर्वाचनका बेला पुराना विषयलाई लिएर अल्झिने छुट कसैलाई नरहेको बताए। “अहिले पार्टीभित्र कुनै गुट छैन,” थापाले भने।
सभापति थापाले छिट्टै केन्द्रीय कार्यसमिति बैठक बस्ने र अनुशासन समिति गठन गरिने जानकारी पनि दिए। निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको उजुरी आएमा प्रमाणका आधारमा जोसुकै भए पनि कारबाही गरिने उनले स्पष्ट पारे।
उनले पुराना पुस्तादेखि जेन–जीसम्म सबैको भावना समेट्न सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे। साथै मधेसलाई कांग्रेसले कहिल्यै उपेक्षा नगरेको उल्लेख गर्दै मधेसी जनताले कांग्रेसलाई विश्वास गर्नेमा आफू विश्वस्त रहेको बताए।




.gif)





