images

२०८३ आश्विन १७ गते

images
images
images

रोजगारी सिर्जना गर्न २ अर्ब खर्चिंदै सरकार

रोजगारी सिर्जना गर्न २ अर्ब खर्चिंदै सरकार

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ल्याएको छ ।वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झारपात उखेल्ने, कुलो बनाउनेजस्ता अनुत्पादक क्षेत्रमा परिचालन गरिएको गुनासोपछि कार्यक्रम खारेज गर्न दबाब परेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न मन्त्रीस्तरीय निर्णय गरेर निर्देशिका जारी गरिएको छ ।आन्तरिक रोजगार प्रवर्द्धन गर्न सरकारले घोषणा गरेको आन्तरिक रोजगार प्रवर्द्धन दशक अभियानका कार्यक्रम र प्रतिवद्धतालाई कार्यान्वयन गर्ने साझा कार्यक्रमको रूपमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको लागि कानुनी प्रबन्ध गर्न निर्देशिका ल्याई कार्यान्वयन गरिएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले साबिकको प्रधानमन्त्री रोजगार कार्याक्रम अब नरहेको बताए ।

    images
    images

    त्यसको सट्टामा अब राष्ट्रिय नयाँ कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम संघसहित, सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा चल्नेछ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत मुलुकको श्रम बजारमा आउने युवा श्रम शक्तिलाई श्रम बजारको माग अनुरुप सीप सिकाई, रोजगार, स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने कार्यक्रम सञ्चालन गरिने घिमिरेको भनाइ छ । वैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव र प्रविधिलाई मुलुकको श्रम बजारको माग अनुरुप प्रवर्द्धन गरी रोजगार, स्वरोजगार र उद्यमशीलता विकासका लागि सञ्चालित कार्यक्रमहरुसमेत सञ्चालन गरिनेछ भने स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारहरुलाई लक्षित गरी सञ्चालन हुने न्यूनतम रोजगारीको कार्यक्रम सञ्चालन गर्ने योजना छ ।सहसचिव घिमिरेले भने, ‘खासगरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन हुने पुनः एकीकरण कार्यक्रम समेत रोजगार प्रवर्द्धन कार्यक्रम मार्फत सञ्चालन हुनेछ । यो कार्यक्रम अन्तर्गत बेरोजगार, रोजगारीको खोजीमा रहेका, वैदेशिक रोजगारीवाट फर्केका, राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरुलाई लक्षित गरेर रोजगारी दिइनेछ ।’ यो कार्यक्रम सुरु गर्न करिब दुई अर्ब यसै आर्थिक वर्षको बजेटमै राखिएको छ । अब त्यसैबाट खर्च गरिनेछ । उनका अनुसार यो कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय निर्देशक समितिको व्यवस्था निर्देशिकाले गरेको छ । श्रममन्त्रीको अध्यक्षतामा रहने समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकएक जना सचिवहरु सदस्य रहनेछन् भने नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी समेत सदस्य रहनेछन् ।

    गाउँगाउँमा रोजगार सेवा केन्द्र समेत रहनेछन् । रोजगार सेवा केन्द्रको काम, कर्तव्य र अधिकार स्थानीय तहको स्वीकृत कार्यक्रम गर्नुका साथै न्यूनतम रोजगार कार्यक्रम व्यवस्थापन सम्बन्धी कार्य, बालश्रम तथा बाध्यकारी श्रम निवारण सम्बन्धी कार्य, सामाजिक सुरक्षा कोषसँग सम्बन्धित कार्य, आन्तरिक रोजगार प्रवर्द्धन र वैदेशिक रोजगारीसँग सम्बन्धित कार्य, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सीप, पूँजी, अनुभव तथा प्रविधिको उपयोग र उद्यमशीलता विकाससँग सम्बन्धित कार्य, सीप तथा क्षमता विकास, व्यवसाय तथा उद्यमशीलता विकासका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय र सहजीकरण सम्बन्धी कार्य गर्नेछ ।निर्देशिका अनुसार मन्त्रालयवाट सञ्चालनमा ल्याइएको श्रम संसार प्रणालीसँग आवद्ध गरी स्थानीय तहले प्रयोगमा ल्याएको श्रम र रोजगारसँग सम्वन्धित सूचना प्रणाली सञ्चालनको कार्य, श्रम र रोजगारसँग सम्बन्धित सूचना प्रणालीको प्रयोग गरी स्थानीय तहमा बेरोजगार, आंशिक रोजगार, रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको अभिलेख समेत त्यस्तो केन्द्रले राख्नेछ । निर्देशिका अनुसार राष्ट्रिय रोजगार प्रर्वद्धन कार्यक्रम अन्तर्गत सीप विकास तालिम सञ्चालन गरिनेछ । श्रम बजारको माग अनुरूपको सीपयुक्त र व्यावसायिक जनशक्ति आपूर्ति गर्न कम्तीमा तीन सय नब्बे कार्यघण्टाको व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गर्न गरिनेछ भने तालिम सञ्चालन गर्दा सैद्धान्तिक र व्यवहारिक दुवै विषय समावेश गर्नु पर्नेछ ।

    images
    images

    सीप विकास सम्बन्धी तालिम सञ्चाचन गर्दा ८० प्रतिशत व्यावहारिक एवम् प्रयोगात्मक सीप र २० प्रतिशत सैद्धान्तिक ज्ञान दिने गरी विधि अबलम्नब गर्नुपर्नेछ । कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्दा सम्बन्धित उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकलाई संलग्न गराएर सञ्चालन गर्न सकिने व्यवस्था निर्देशिकामा छ । त्यस्तै, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सीप विकाससम्बन्धी विषयको पाठ्यक्रम स्वीकृत गर्ने, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेछ भने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मातहतका व्यावसायिक प्रशिक्षण केन्द्रले सीप परीक्षण गरी प्रमाणीकरणको लागि प्रतिष्ठानमा पठाउनुपर्ने उल्लेख छ ।साझेदारी तथा सहकार्यमा रोजगारी सिर्जना र तालिम सञ्चालन गर्ने समेत निर्देशिकामा व्यवस्था छ । यसका लागि स्थानीय तहमा निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसँगको साझेदारी तथा सहकार्यमा स्थानीय श्रम बजारको माग वमोजिम सीपमूलक तालिम तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । कार्यक्रम सञ्चालन गर्दा दिगो रोजगारी सिर्जना र श्रम बजार माग अनुकूलको सीप विकाससँग सम्बन्धित कार्यक्रमलाई प्रथामिकता दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend