काठमाडौं । नेपाल सरकार, गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नत प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। राष्ट्र, जनता र संगठनप्रति पुर्याएको सेवा, व्यावसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्यांकनका आधारमा पदोन्नति गरिएको उल्लेख गर्दै उनले पदोन्नतिसँगै जिम्मेवारी पनि बढ्ने भएकाले थप दायित्वमा आफूलाई अब्बल प्रमाणित गर्न आग्रह गरे।
उनले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सूचना संकलनलाई प्राथमिकता दिँदै सुरक्षा जोखिमको पहिचान गरी थप सक्रिय र ऊर्जावान् भएर कार्यसम्पादन गर्न निर्देशन दिए।
पदोन्नत अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमान्दारिताका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।




.gif)





