चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएकाे छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएकाे हाे ।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएकाे हाे । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएकाे उनले बताए ।
उनले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको बताए । गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएकाे सूचना अधिकारी मगरले बताए । निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको उनले बताए ।उनका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गरिँदै आएको छ ।




.gif)



