images

२०८३ आश्विन १९ गते

images
images
images

आँखा शिविरमा २ सय १६ जनाको शल्यक्रिया

आँखा शिविरमा २ सय १६ जनाको शल्यक्रिया

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • ताप्लेजुङ ।  नेपाल नेत्र ज्योति संघ, डिचेन डोङगला आँखा उपचार केन्द्र ताप्लेजुङको हलमा यस वर्ष शल्यक्रियाका लागि फरक कोठा छानियो । अघिल्ला शिविरहरूमा बिरामी सुताउने कोठालाई शल्यक्रिया र शल्यक्रिया गर्ने कोठालाई बिरामीको आराम गराउने स्थल बनाइयो ।आइतबारदेखि मंगलबारसम्म चलेको शिविरमा आँखा उपचारमा प्रसिद्धि कमाएका डाक्टर सन्दुक रुइट र उनका छोरा डाक्टर सागर रुइटले शल्यक्रिया गरे । एउटै हलका दुई वटा कुर्सीमा बसेर बाबुछोराले शल्यक्रिया गरिरहँदा सन्दुककी धर्मपत्नी तथा सागरकी आमा नन्दा श्रेष्ठ रुइटले भने बिरामीलाई अपरेसन शयन कक्षमा पुर्‍याइदिने, टेपलगायतका सामग्री तयार गरिदिनेजस्ता कार्यमा निरन्तर सहयोग गरिन् ।

    images
    images

    आँखा उपचार केन्द्र ताप्लेजुङका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार डाक्टर बाबुछोरासँगै नन्दा पनि अपरेसन कक्षमा पस्ने, आवश्यक सहयोग गर्ने र तिनीहरू सँगै निस्कने गरेकी थिइन् । शिविरमा स्वयंसेवकका रूपमा खटिएकी गंगा गुरुङले भनिन्, ‘नन्दा मेम (सन्दुकको श्रीमती) ले यति केयर गर्छिन् कि शल्यक्रियामा लैजाने बिरामीलाई औषधि लगाइरहेको छ कि छैन, अपरेसन गरिसकेपछि कसरी सुताएको छ भनेर निगरानी गर्ने र हामीलाई सल्लाह दिने गरिरहेकी थिइन् ।’ल्यक्रिया स्थलमा टेलिभिजन स्क्रिनसमेत राखिएको थियो । दुवै डाक्टरका आ–आफ्ना सहयोगीले औषधि लगायतका सामग्री लगातार दिन्थे । नन्दाले स्क्रिन हेर्दै अन्य आवश्यक सामग्री तयार पार्ने, शल्यक्रिया गर्नेलाई सहयोग पुर्‍याउने काम गर्थिन् ।

    तीन दिनमा रुइट बाबुछोराले २ सय १६ जनाको शल्यक्रिया गरे । बाबुको तुलनामा छोरा सागरले झन्डै दोब्बर आँखा खोले । सन्दुकले ७९ र सागरले १ सय ३० जनाको मोतीबिन्दु र दुवै मिलाएर ७ जनाको सामान्य शल्यक्रिया गरेको नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ ।पहिलो दिन आइतबार ६ जनाको एकै पटक दुवै आँखाको शल्यक्रिया गरिएको थियो । ‘जो कोहीले एकै पटक दुवै अपरेसन गर्दैन, उहाँमा कन्फिडेन्स छ,’ काजीले भने, ‘नतिजा कस्तो होला भनेर मलाई चिन्ता पनि थियो र चासो पनि, तर ६ जनाले नै दुवै आँखाले छ्याङ्ग देखे ।’दुवै आँखा शल्यक्रिया गरेकी फुङलिङ नगरपालिका–९ हाङदेवाकी विष्णुमाया लिम्बूले आवाजका भरमा चिनिरहेकी कान्छी बुहारीलाई पहिलो पटक देखेकी थिइन् । शल्यक्रियापछि आँखाको पट्टि खोलेको बाल मन्दिरको प्राङ्गणमा बुहारीले ‘मलाई चिन्नुभयो’ भन्दा प्रतिक्रिया विहीनजस्तो भएर एकोहोरो हेरिरहिन् र ‘बुहारी होइन’ भनेर प्रतिक्रिया जनाइन् ।

    images
    images

    उनको आँखा आफू बुहारी भएर डेढ वर्षअघि आउँदादेखि नै ठप्प रहेको बुहारी लक्ष्मीमायाले बताउँछिन् । सासूको दुवै आँखा देख्ने भए–नभएको हातले एउटा आँखा छोप्दै अर्कोले हेर्दै गरेर बुहारीले परीक्षणसमेत गराएकी थिइन् ।नेत्र ज्योति संघको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरका लागि चिकित्सकसहित २१ जनाको टोली ताप्लेजुङ आएको नेत्र ज्योति सङ्घका सभापति राजकुमार गुरुङले जानकारी दिए । सभापति गुरुङका अनुसार तीन दिन भनिए पनि शिविर चार दिनसम्म चल्यो । शिविर सुरु हुने अघिल्लो दिन आँखा उपचार केन्द्रमा यसअघि परीक्षणका लागि आएका र मोतीबिन्दु लगायत शल्यक्रिया गर्नुपर्ने आशंका गरिएका व्यक्तिहरूको परीक्षण गरेर निश्चित गरिएको थियो । शिविर अवधिभर १ हजार ६ सय ३३ जनाको परीक्षण गरिएको थियो ।

    सन्दुकको हातबाट अपरेसन गर्न काठमाडौंदेखि ताप्लेजुङ

    काठमाडौंको बुढानीलकण्ठ घर भएकी ५६ वर्षीया शर्मिला गुरुङको बायाँ आँखामा मोतीबिन्दु भएको थियो । उनी सन्दुक रुइटबाटै शल्यक्रिया गराउन चाहन्थिन् । त्यसका लागि तिलगंगा आँखा अस्पताल पुगिन् । तर तीन महिनापछि मात्रै सम्भव हुने भएपछि ताप्लेजुङमा हुने शिविरमा आइन र शल्यक्रिया गराइन । आफूले सन्दुकबाटै पहिलो दिनमै शल्यक्रिया गराएको उनले बताइन् ।रुइटबाट आँखा उपचार गराउन ताप्लेजुङबाहेक पाँचथर, तेह्रथुम, संखुवासभा र भोजपुरदेखिका मानिस आएको नेत्र ज्योति सङ्घका केन्द्रीय सूचना तथा सञ्चार विभाग सदस्य खगेन्द्र अधिकारी बताउँछन् ।क्लिनिक इन्चार्ज गुरुङका अनुसार शिविर सकिने अन्तिम समयसम्म पनि मोतीबिन्दुले ठप्प भएकाहरू ‘शिविर छ’ भन्ने सुनेर आइरहेका थिए । उपकरणहरू निकालेर अपरेसन कक्षबाट बाहिरिइसकेकाले केहीलाई ‘अर्को पटक आउनुहोस्’ भनेर फर्काएको उनले बताए ।

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा जन्मिएका रुइटले आफ्नो जन्मस्थल भएको गाउँपालिका र सदरमुकाम फुङलिङमा यसअघि पनि शिविर सञ्चालन गरी उपचार सेवा प्रवाह गरेका छन् । आगामी दिनमा पनि नेत्र ज्योति सङ्घसँगको सहकार्यमा उपचारमा क्रियाशील हुने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend