हेटौंडा। मकवानपुर जिल्लास्तरीय वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा बागमती गाउँपालिका पुनः जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो गाउँपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम, सूचक र कार्यसम्पादनको आधारमा गरिएको मूल्यांकनमा बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।यसअघि पनि बागमती गाउँपालिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो। गत आर्थिक वर्ष २०८०÷०८१ मा समेत बागमतीले जिल्लामै पहिलो स्थान प्राप्त गरेको थियो।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्रणाली, प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप सेवा, पोषण कार्यक्रम, र जनचेतनामूलक अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गरिएकाले बागमती गाउँपालिकाले पुनः जिल्लामै अग्रता कायम राख्न सफल भएको हो।
बागमती गाउँपालिकाको यो उपलब्धि ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच र सेवा गुणस्तर सुधारका दृष्टिले महत्वपूर्ण मानिएको छ।गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरू सक्रिय रूपमा सञ्चालनमा रहँदै आएका छन्। स्वास्थ्यकर्मीहरूको नियमित तालिम, औषधि तथा उपकरणको सहज उपलब्धता, र जनसहभागितामार्फत सञ्चालित विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमहरूले गाउँपालिकाको स्वास्थ्य क्षेत्र सुदृढ बनेको स्थानीयवासीले बताएका छन्।त्यस्तै, मकवानपुर जिल्लाको थाहा नगरपालिका दोस्रो र मकवानपुरगढी गाउँपालिका तृतीय स्थानमा रहेका छन्। थाहा नगरपालिकाले शहरी क्षेत्रमा स्वास्थ्य पूर्वाधार विस्तार र सरसफाइ सुधारमा उल्लेखनीय प्रगति गरेको स्वास्थ्य कार्यालयले जनाएको छ भने मकवानपुरगढी गाउँपालिकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रशंसनीय काम गरेको छ।
बागमती गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको निरन्तर उत्कृष्ट प्रदर्शनबारे प्रतिक्रिया दिँदै भने, ‘हाम्रो मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य हो। गाउँपालिकाभित्रका सबै वडाहरूमा स्वास्थ्य सेवा सुदृढ बनाउन जनसहभागिता, स्वास्थ्यकर्मीको समर्पण र व्यवस्थापनको तालमेलले महत्वपूर्ण भूमिका खेलेको छ।’




.gif)





