काठमाडौँ । कात्तिक १५ , लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीको जलसतह तीव्र रूपमा बढ्दै गएको छ। नदीमा पानीको मात्रा बढेपछि कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज (शनिबार) बिहान ८ः०० बजे गरिएको मापनमा ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह थियो र त्यतिबेला १३ ढोका खोलिएका थिए। दिउँसो १२ बजे प्रवाह ९२ हजार १३० क्युसेक, अपराह्न ४ः०० बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८ः०० बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि ढोका संख्या बढाएर १६ पुर्याइएको उनले जानकारी दिए।
गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका थिए। त्यसयता पानीको मात्रा केही घटेको भए पनि बिहीबारदेखि सुरू भएको अविरल वर्षाका कारण फेरि जलसतह बढ्न थालेको खतिवडाले बताए।
लगातार भइरहेको वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार बाढी, पहिरो, डुबान तथा यातायात अवरुद्धजस्ता जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा नजान, विशेषगरी रातिको समयमा यात्रा नगर्न, र जोखिमयुक्त बस्तीका बासिन्दाले सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति, सुरक्षा निकायहरू र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडक र राजमार्गमा डोजर र एक्साभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको श्रेष्ठले बताए।
हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि लगातार भइरहेको वर्षाले जलसतह अझ बढ्न सक्ने भएकाले सप्तकोशी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।




.gif)





