काठमाडौँ । भदौ ५, पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्ड पुनः सञ्चालनमा आएको छ। नेपाल–चीन सिमानास्थित तातोपानी नाका नजिकै पहिरो जाँदा सो खण्ड केही समयका लागि अवरुद्ध भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो भने आज अपराह्न देखि ठूला सवारीसाधन समेत सञ्चालनमा आएका छन्।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले पहिरो नियन्त्रणको काम अहिले पनि जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, पहिरोका कारण माथिल्लो बस्ती समेत जोखिममा परेका छन्, जसका कारण काममा कठिनाइ भइरहेको छ। सडक डिभिजन चरिकोटबाट खटिएको प्राविधिक टोली आवश्यक उपकरण सहित खटिएको छ।
डाक्टर जैसीका अनुसार, पहाडी भू–आकृति र लेदो बग्ने प्रवृत्तिका कारण सो क्षेत्रमा समय समयमा समस्या आइरहन्छ। पहिरोको दीर्घकालीन समाधानका लागि विज्ञ टोलीद्वारा अध्ययन जारी रहेको र ग्याविन पर्खाल जस्ता संरचनाहरू निर्माण गर्दै समस्या समाधान प्रयास भइरहेको उहाँले बताउनु भयो।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार, यातायात सहज बनाइ राख्न प्राविधिक तथा उपकरणहरू अझै कार्य क्षेत्रमै परिचालित छन्। चाडपर्व नजिकिँदै गएकाले राजमार्ग बन्द हुन नदिन मन्त्री प्रभु साहको निर्देशनमा तदारुकताका साथ काम भइरहेको छ।




.gif)





